काठमाडौं, १९ असोज ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ११ सय ३३ जना कोरोना संक्रमित निको भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक हजार १ सय ३३ जना कोरोना संक्रमणमुक्त भएसँगै स्वस्थ हुनेको संख्या ६५ हजार २ सय २ पुगेको बताए । यस्तै पछिल्लो २४ घन्टामा गरिएको १३ हजार ७ सय ८१ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको जानकारी गराए । हाल नेपालभर २३ हजार ५ सय ७ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ११ हजार १ सय ९१ जना संस्थागत आइसोलेसनमा छन् भने १२ हजार ३ सय १६ जना होम आइसोलेसनमा रहेका छन् ।