राजविराज, १० भदौ (रासस) ।
सप्तरीमा लगाइएको धानबालीमा गवारो रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । एक महिनाअघि आएको बाढीले धानबालीमा ठूलो क्षति पु¥याएको र अहिले गवारो रोग देखिन थालेपछि किसान थप चिन्तित बनेका हुन् ।

यस वर्ष अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए । उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एक महिनाअघि आएको बाढी र अहिले एकाएक रोगको प्रकोप देखिन थालेपछि मारमा परेका हुन् । “समयमै वर्षात् भएका कारण यस वर्ष रोपाइँ सकेका थियौँ”, तिलाठी कोइलाडी गाउँपालिकाका किसान श्यामसुन्दर खडगाले भन्नुभयो, “यस वर्ष धान उत्पादन बढ्ने भो भनेर खुशी भएका थियौँ । तर बाढी र गवारो रोगको प्रकोप देखिएपछि चिन्तित भएका छौँ ।”

पुतली प्रजातिको गवारो किराले धानको गाभा काटेर क्षति गर्ने गरेको किसान वताउँछन् । किराको प्रकोप वढ्दै जाँदा धानको वोट सुकेर पहेंलो हुन थालेको छ । एक महिनाअघि आएको बाढीबाट बचेका धानबालीमा अहिले गवारो रोगले नष्ट हुन थालेपछि आफूहरु चिन्ता बढेको अर्का किसान लाल माझीले बताउनुभयो । समयमै रोग निर्मूल पार्न नसके बाली सखाप हुने र किसान भोकभोकै हुनुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो । सप्तरी धान खेतीमा अब्बल मानिन्छ ।

जिल्लाको तिलाठी कोइलाडी, विष्णुपुर, बालन बिहुल र खडक गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकालगायत क्षेत्रको धानबालीमा गवारो रोगको प्रकोप बढी देखिएको छ । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले धानबालीमा गवारो रोगको प्रकोपले ६० देखि ७० प्रतिशत क्षति पु¥याएको बताउनुभयो । प्रकोप नियन्त्रण तथा किसानलाई राहत प्रदान गर्न गाउँपालिकाको साधान स्रोतले भ्याएसम्म आफूले पहल गरिरहेको उहाँको भनाइ छ । रोग नियन्त्रणका लागि प्रदेश र सङ्घीय सरकारलाई पनि सहयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

बाढी र कोरोनाको कहरबाट उन्मुक्ति नपाउँदै धानबालीमा देखिएको गवारो रोगको प्रकोपले आफूहरु थप मारमा परेको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले खेतमा प्रयोग गरिने रासायनिक मल, डिएपी, युरिया, पोटासलगायत मात्रा नमिल्दा पनि बालीको जरा कमजोर भई किराको आक्रमण बढेको बताउनुभयो । पुतली जातको गवारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको बताउँदै उहाँले यसको रोकथाम तथा नियन्त्रणका लागि प्राविधिक खटाइने काम भइसकेको जानकारी दिनुभयो । रासायनिक मल, डिएपी, युरिया, पोटासलगायत मलको सही मात्रा नमिल्दा बालीको जरा नरम र कमजोर भई किराले आक्रमण गर्न थालेको उहाँको भनाइ ।

जिल्लाको उत्तरी भागमा गवारो किराको प्रकोप बढी देखिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सप्तरी, सिरहालगायत प्रदेश नं २ का प्रायः सबै जिल्लामा यो रोगले धानबालीमा क्षति गर्ने गरेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि किसानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । किसानमा प्राविधिक ज्ञानको कमी र किराका लागि अनुकूल वातावरण भएका कारण गवारो रोगेको प्रकोप बढी देखिएको बताइएको छ । “दैनिक १०÷१२ जना किसान धानमा रोग लागेको भन्दै बोट बोकेर आउने गरेका छन्”, प्रमुख यादवले भन्नुभयो, “धेरैजसो बाढीग्रस्त क्षेत्रमा समस्या देखिएको छ । बीउबिजन गुणस्तरीय नहँुदा बर्षेनी समस्या हुने गरेको छ ।”

रोगको पहिचान गरी किसानलाई विषादी प्रयोग गर्न सुझाव दिएको र यसबाट रोग नियन्त्रण हुने दाबी कृषि प्राविधिकको छ । गवारो रोगका लागि कोलोरो पाइरिफस नामक विषादी प्रयोग गर्न किसानलाई सुझाएको कृषि प्राविधिकको भनाइ छ । रोग हेरेर मात्र विषादीको प्रयोग गर्न पनि उनीहरुको सुझाव छ ।

जिल्लामा यो वर्ष ६२ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानबाली गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here