चितवन, ५ भदौ ।
चितवनमा अहिलेसम्म ३४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । शुक्रवारसम्मको तथ्याङ्क अनुसार चितवनमा १० जना चिकित्सक सहित ३४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा अधिकांश नर्स छन् । ३४ जना स्वास्थ्यकर्मी मध्ये १९ जना नर्स मात्रै छन् । जुन कुल स्वास्थ्यकर्मी संक्रमितको ५५ प्रतिशत हुन आउँछ । बाँकी पाँच जना भने अन्य स्वास्थ्यकर्मीहरू रहेका छन् । जेठ २६ गते सोमवार चितवनमा पहिलो पटक चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला दुई जना चिकित्सक र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यो नै चितवनमा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको पहिलो घटना थियो । त्यसबिचमा चितवनमा कुनै पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थिएन । अहिले दुई सातायता चितवनमा लगातारजसो स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिन थालेको छ । सूचना अधिकारी पौडेलका अनुसार जिल्ला भित्र अहिलेसम्म संक्रमतको संख्या ३ सय ३ जना पुगेको छ । जसमध्ये १ सय १८ जना निको भइसकेका छन् भने १ सय ८२ जना उपचाररत छन् । त्यस्तै अहिलेसम्म चितवनका तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरि कैलालीको गोदावरी नगरपालिका ७ का एक जना पुरुषको पनि भरतपुर अस्पतालको आईसीयू उपचारको क्रममा मृत्‍यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here