असार १० । सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७ । ०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । देशैभरी कोभिड १९ को संक्रमण बढिरहेको बेला कोभिड नियन्त्रण लक्षित बजेट बुधबार एक समारोहवीच सार्वजनिक गरिएको उपमेयर विना रानाले मेयर खबरलाई जानकारी दिनुभयो ।
जस अनुसार कुल विनियोजित बजेटमध्ये चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्यालय सञ्चालन लगायत प्रशासनिक खर्च र अन्य व्यवस्थापन समेतको लागि ४५ करोड ९४ लाख ८७ हजार ५ सय ४६ विनियोजन भएको छ भने पूँजीगत खर्च तर्फ कुल २४ करोड ८४ लाख ७ हजार विनियोजन गरिएको छ ।
उक्त बजेट गत वर्षभन्दा करिव २० करोडले कमी हो । गत वर्ष उपमेयर रानाले ९१ करोड बढीको बजेट प्रस्तुत गर्नुभएको थियो । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त अनुदान रु ५६ करोड ९२ लाख ८७ हजार २ रुपैया, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ५७ लाख, आन्तरीक स्रोतबाट १३ करोड ३१ लाख ९० हजार ५ सय ४४ आयको अनुमान गरिएको छ ।
उपमेयर विना रानाले स्रोत साधनको सिमीतता, कोभिड १९ को महामारीको विद्यमान परिस्थिति, न्युन आयस्रोत र नगरवासीको उच्च आकांक्षालाई मध्यनजर गरी महामारीले नकरात्मक प्रभाव पारेका सामाजिक र आर्थिक क्षेत्रको पुनर्उत्थान गरी समृद्धिको यात्रालाई जारी राख्न यो बजेट सार्थक हुने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसैगरी नगरको क्षेत्रगत र भौगोलिक सन्तुलन कायम हुनेगरी दीर्घकालीन रुपमा प्रतिफल दिन सक्ने योजनाहरु कार्यन्वयन गर्न स्रोत, साधन, प्रविधि र जनशक्ति आदिको प्रभावकारी र कुशल रुपमा बजेटको उपयोग गर्ने रणनीति अवलम्बन गरेको उपमेयर रानाको भनाई छ ।
उपमेयर रानाले प्रस्तुत गरेको बजेटमा बेरोजगार युवा युवतिहरुलाई रोजगारीका अवसर सिर्जना गर्ने, भूमि बैंकमार्फत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गरी एकीकृत कृषि प्रणालीलाई अवलम्बन गर्न कृषकलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषि र पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर वनाउन सहयोग गर्ने, ब्यवस्थित शहरीकरणको लागि दीर्घकालीन नीति तथा मापदण्ड बनाई “कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार” भन्ने अभियानलाई पूर्णता प्रदान गर्ने, प्राविधिक शिक्षा र सिपमूलक तालिमको माध्यमबाट स्वरोजगार बनाई जनताको जीवनस्तर सुधार गर्ने, बेरोजगार युवा तथा महिलालाई कृषि, पशुपंक्षि व्यवसायमा आबद्ध गरि आत्मनिर्भर गराउने उल्लेख छ ।
त्यसैगरी बजेटमा नगरपालिकाको नगर गुरुयोजना तुर्जमा गरी नगरको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन विकासका लक्ष्यहरु निर्धारण गर्ने नीति लिइए अुनुरुप गुरुयोजना निर्माणको कार्य अन्तिम चरणमा छ । गुरुयोजनाले समेट्न नसकेका नगर यातायात गुरुयोजना, नगर पाश्र्वचित्र, स्थानीय तहको सूचनाप्रणाली र भू–उपयोग योजना समेत तयार भइसकेको उल्लेख छ ।
बजेट प्रस्तुत गर्दै उपमेयर रानाले वडा नं.११ को कञ्चन पुलको निर्माण सम्पन्न भएको, संघीय निर्वाचन क्षेत्र नं। २ र ३ जोडने कर्साघाट पुललाई निरन्तरता दिइएको, त्यसैगरी नगरको गौरवको रुपमा रहेको सैनामैना चक्रपथ क्षेत्रको ५० प्रतिशत सडक स्तरउन्नति सम्पन्न भइसकेको बजेटमा उल्लेख गर्नुभएको छ ।