काठमाडौं ८ पुस ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु बिडम्वनाको कुरा भएको उहाँको टिप्पणी थियो । शुक्रबार सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढदै जानु तर महिला आयोगले काम गर्न नसक्नु दुःखद् विषय भएको गुनासो समेत गर्नु भयो । उहाँले मन्त्रालयमा बजेटनै नभएकाले हिंसा पीडित महिलाहरुलाई आर्थिक सहायता दिन नसकेको स्पष्ट पार्नु भयो । मन्त्री रेग्मीले आगामी आर्थिक वर्षको बजेटमा भने महिला हिंसाका लागि आवश्यक बजेटको व्यवस्था हुने गरी आफूले योजना तय गरेको दावी समेत गर्नु भयो ।मन्त्री रेग्मीले आफूले महिला मन्त्रालयको बजेट दोब्बर वृद्धि गर्ने काम गरेको पनि बताउनु भयो । ८० करोड भन्दाबढि बजेट नभएको मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १ अर्व ७८ करोड पु¥याइएको उहाँले बताउनु भयो । मन्त्री रेग्मीले ८० प्रतिशत जनसंख्यालाई प्रतिनिधित्व गर्ने आफ्नो मन्त्रालयका लागि अझै पनि बजेटको अभाव रहेको र सोही कारण पीडितको मागलाई सम्बोधन हुने गरी काम गर्न सक्ने अवस्था नरहेको स्पष्टिकरण समेत दिनु भयो ।त्यस अवसरमा मन्त्री रेग्मीले आफूले मन्त्री भएर आएपछि नै महिला मन्त्रालयमा ‘महिला पहिला’ अभियान, महिला सुरक्षा कार्यक्रमजस्ता नयाँ कामहरु सुरु भएको बताउनु भयो ।







