काठमाडौं, १९ जेष्ठ । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइनेछ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउनेछन् । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । तर, आवतजावत कोरोना भाइरसको संक्रमण कम फैलिएका र जोखिम कम भएका क्षेत्रलाई मात्र गर्न दिइनेछ । मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइनेछ । हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक पाइने छैन । भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवत जावत गर्न पाइनेछ ।तर, भारतबाट प्रवेश गरेपछि १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । सिमानाकामा सेना परिचालन गरिनेछ । सेनाले नाकामा कोरोना रोकथामका लागि सहयोगी भुमिका निभाएर क्वारेन्टाइनको पनि व्यवस्थापन गर्नेछ ।
१६ असारसम्म हवाई सेवा बन्द नै रहनेछ । विस्तारै आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याइनेछ ।
१ असारबाट शैक्षिक संघसंस्थाको पठनपाठन सुचारु हुनेछन् ।
विद्यालय तथा शैक्षिक संस्थाले अनलाइन या दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउनेछन् । खुल्ने भने छैनन् ।