अमृत खनाल
हे राज सभामा बसेर शकुनि पासा पल्ट्याउने तिमी
एकाधिकारको जंजिरलाई तोडेर एकतन्त्र भित्रको अनिश्चितता सल्ट्याउने तिमी
निरंकुश बादशाहलाई हीराको गद्दिबाट गलहत्याउने तिमी
म बबुरो निमुखाको पेटमा कहिले चियाउने कोसिस गरेनौ
स्वतन्त्रताको मैले देखेको सपनामा विपनाको दिप जलाउने तिमी
यो उकुस्मुकुस्ताको जंजिरमा तिर्खाएको मेरो घाँटी भिजाउने कहिले कोसिस गरेनौ ।
हो म त्यही निमुखा हुं,
जस्ले तिम्रो कमान्डोमा तिम्रो रक्षार्थ मेरो छातीलाई पहाड बनाइदियो
आफ्ना पाखुरा तिमीले बनाएका तिम्रा बैरीको विरुद्ध बज्र बनाइदियो
आफ्नो रगत/पसिना तिम्रै लक्ष्य भेद्को सिद्धान्त रूपी सागर चुम्ने गंगा बनाइदियो ।
तर तिमी,
मेरो पसिनाको गंगामा डुङा खियाउंदै
अरु सम्भ्रान्तहरु भरीएको त्यही सागरमा सुरक्षित अबतरण गर्यौ
सुख-समृद्धिका आशा जगाइएका मेरा स्वदेशी र स्व-रोजगारीका गुलीया सपनाको सट्टा
मेरा निहत्था र निरीह हातमा पास्पोर्टका अधुरा पाना बितरण गर्यौ ।
म त्यही निरीह हुं,
जो तिम्रा विदेशी मित्रहरुको उपहारको रुपमा धाइरहेछु
आफ्नो पसिनाको मोल बन्द भएपछी
आफ्नो यो मुल्यहीन श्रम चर्को तापमानमा पनि बरफ जस्तै जमाइरहेछु
स्वाभिमानसंग साटिएको डलरको मोहबाट मुक्त भएर
बांझो छोडिएको आफ्नो मलिलो जमिनमा सुन फलाउन जाने दिनहरु गनिरहेछु ।
तिम्रो राहत रूपी प्रसादको लागि,
तिमीलाई राज महलमा पुर्याउने त्यो महंगो शहरको तिम्रो पुरानो रैती
आफ्नो स्वाभिमानलाई भोको पेट संग साट्न सक्दैन भनिरहेछ
किनकि, श्रम संग आफ्नो स्वाभिमान जोडेको उस्ले
भोको पेट भन्दा धेरै आफ्नो लज्जा संग डर मानिरहेछ ।
तर तिमी,
त्यही राजमहलमा बसेर सिद्धान्त बङ्याउंदै छौ रे
आफ्नो स्वास्थ्य सुरक्षार्थ बन्दाबन्दी अरु लम्ब्याउंदै छौ रे ।
म जस्ता हजारौंको तिमीलाई आशिर्वाद छ ,
तिम्रो त्यो महङ्गो शरीर कुनै सूक्ष्म जीवले रत्ती भर नडग्मगाओस
तर यो मजबुरी शहरमा ,
हाम्रा सुकेका पसिना, भोकाएको पेट र थाकेका सपनाहरुको कारुंणिक रोदनले
हाम्रो सुरक्षित अबतरणको लागि तिम्रो बुद्धि जगमगाओस ।
बस यहि छ याचना !!!