प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताहरूको प्रमाणपत्र वितरण कार्यक्रममा उनले सबैको अथक प्रयासमा न्यायालय लयमा फर्किएको भन्दै यसलाई अझै गरिमामय बनाउनुपर्ने बताए ।उनले भने, ‘तपाई हाम्रो अथक प्रयासमा न्यायालय लयमा फर्किएको छ । यसमा नै चित्त बुझाउने हो कि न्यायालयलाई थप गरिमामय पनि बनाउने हो । यो आफैं बन्न सक्दैँन् । जिम्मेवारी हाम्रो काँधमा छ । हामी त्यसतर्फ अघि बढेका छौं कि छैनौं ध्यान दिनुपर्छ ।’यस्तै, कार्यक्रममा महान्यायाधिवक्ता एवं नेपाल बार एशोसिएशनका अध्यक्ष रमेश बडालले वरिष्ठ अधिवक्ताहरूले वरिष्ठको हैसियत कायम गर्न नसकेको बताए ।उनले भने, ‘वरिष्ठ अधिवक्ताहरूलाई कानूनले के भन्छभने अर्ध न्यायीक निकायमा जान पाईदैँन् भनेर भनेको छ । तर कानूनको परिचालन कति गरेका छौ । सर्वोच्च अदालतमा विचराधिन मुद्दाहरुमा कतिपय अर्धन्यायीक निकायबाट गरेका निर्णयहरुमा वरिष्ठ अधिवक्ताहरूले बहस गरेको उल्लेख भएर आउने गरेको छ । वरिष्ठ अधिवक्ताहरूको नाम नै आएको हुन्छ । मलपोतमा गएको वा कुनै निकायमा गएको देखिन्छ । वरिष्ठहरूले वरिष्ठको हैसियत कायम गरेका छौ भनेर मान्न मिल्छ र ? आफैले उल्लघंन गरेको देखिन्छ ।’यस्तै, उनले एक्लै सबै ठाँउ जाने र सबै काम गर्ने मान्छे वरिष्ठको लागि योग्य नभएको भन्दै सबै कुराको अवस्था क्रमश अन्त्य गर्दै जानुपर्ने बताए ।
उनले भने, ‘एकजना मात्र लुखुरु लुखुरु कानूनको फर्म चलाएर बसेको छ भने त्यो व्यक्ति वरिष्ठको लागि योग्य हुदैँन् रहेछ । जब उसँग टिम छ, त्यसपछि मात्र वरिष्ठ हुन्छ । मुद्दा ड्राफ्टिङ् आफैं गर्ने, अदालत आफैं जाने, सबै कार्यालयमा आफैं जाने अनि वरिष्ठ अधिवक्ता पनि हुने यो सबै कुराको अवस्था क्रमश अन्त्य गर्दै जानुपर्छ ।’







