रौतहट, २७ वैशाख । भारतले लकडाउनको मौका छोपी दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ ।
रौतहटको सदरमुकाम गौरको पश्चिममा रहेको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको देखिएको छ । एक दशक अघि भारतले जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६.५ हुुँदै बन्जरहासम्म बनाएको बाँधलाई अग्लो बनाउँदै बनाइ रहेको छ ।
दशगजा क्षेत्रमा पक्की वा अस्थायी कुनै किसिमका संरचना बनाउन पाइँदैन । तर, भारतले अवैध रुपमा बाँध बनाएका कारण नेपाली भूभाग डुबानमा पर्दै आएको छ । त्यस्ता संरचना भत्काउनु पर्नेमा भारतले भने सिमेन्टका बोराहरूमा माटो तथा ढुङ्गा भरेर तथा बाँधको चौडाइसँगै उचाइ बढाउने काम गरिरहेको छ ।
भारतले बाँध बनाइरहेको विषयमा स्थानीय प्रशासनलाई जानकारी गराए पनि सरकारी स्तरबाट कुनै पहल नभएकोले ईशनाथ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बिगु साह बनियाँले बताए । ‘दुई किलोमिटरभन्दा लामो, १५ फिटभन्दा अग्लो अनि फेदमा १० मिटरभन्दा चौडा बाँध बनाउँदा भारतले पानी निकासका लागि एउटा पनि ढोका नराखेको र स्थानीयले पटकपटक जानकारी गराउँदा सरकारी स्तरबाट बाँध निर्माणको कार्य रोक्ने पहल नभएको।’ साहले बताए ।

ईशनाथका स्थानीयवासीमा भने वर्षायाममा डुवान बढ्ने क्रमसँगै आक्रोश बढेको छ । ‘दुई देशको सिमानामा यसरी बाँध बनाएर भारतीय पक्षले अत्याचार गरेको छ । पिल्लरसँगै जोडेर निकै अग्लो बाँध बनाएका छन्’ ईशनाथ नगरपालिका १ का स्थानीय सुरेश साहले भने, ‘बाँधका कारण हामी वर्षेनी पीडित हुने गरेका छौं ।’
यस बारेमा रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सीमा क्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा काम गर्न थालेको सूचना आएको जानकारी दिनु भयो । ‘भारतीय पक्षले गरेको काम गैरकानुनी हो । हामीले तुरुन्त रोक्नु भनेका छौं’ प्रमुख जिल्ला अधिकारी घिमिरे भने, ‘डिएमसँग कुरा भए पनि भारतीय पक्षले अटेरी गरेर माटो थुपारेको छ ।’
स्थानीय स्तरमा काम गर्न आएका प्राविधिकहरूलाई समेत काम नगर्न भनिएको समेत प्रजिअ घिमिरेले बताउनु भयो।
जंगे पिल्लर ३४७ आसपासको क्षेत्रमा कुनै किसिमको काम नगर्ने लिखित सहमति विपरीत भारतीय पक्षले बाँध बनाएको विषयमा गृह मन्त्रालयलाई जानकारी पठाएको घिमिरेले बताउनु भयो ।