काठमाडौं : पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवको अपहरणको चर्चासँगै बर्दिबासको गौतम होटेल पनि चर्चामा आएको छ । सञ्चालक हिरा गौतमका अनुसार पूर्वआइजिपी सर्वेन्द्र खनाललगायतको टोली मंगलबार राति नै होटेलमा आएको थियो । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले सूचना गरेर ६ वटा कोठा उपलब्ध गराइदिन भनेपछि आफूले तयार गरिदिएको उनले बताए ।
‘एसपी श्यामकृष्ण अधिकारीले पूर्वआइजिपी सर्वेन्द्र खनाल महोत्तरी आउँदै हुनुहुन्छ, उहाँलाई बस्न ६ वटा कोठा उपलब्ध गराइदिन आग्रह गर्नुभयो । सुरक्षाप्रमुखले आग्रह गरेपछि हुँदैन भन्ने कुरा भएन,’ सञ्चालक गौतमले भने, ‘मंगलबार मध्यराति दुईवटा गाडीमा आएको, राति खाना खाएर सुतेको र बिहान ७ बजेतिर हल्का नास्ता लिएर निस्किनुभएको हो ।’
उनीहरू साँझ ६ बजेतिर पुनः होटेल फर्किएर दुई घन्टाजति बसेको उनले बताए । तर, त्यतिवेला कोकसको भेटघाट भयो आफूलाई सबै जानकारी नभएको बताए । ‘बुधबार साँझ आउँदा भने तीनवटा गाडीमा हुनुहुन्थ्यो,’ गौतमले भने, ‘राति ८ बजे उहाँहरू चेकआउट गरेर सिन्धुलीको बाटो हुँदै काठमाडौं लाग्नुभएको हो ।’
सांसद यादव अपहरणको हल्ला फैलिएसँगै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव तथा अर्थमन्त्री विजय यादव बिहीबार बर्दिबासस्थित गौतम होटेल पुगेका छन् । उनीहरूले होटेलमा बसेका पूर्वआइजिपी सर्वेन्द्र खनाल तथा अन्य अतिथिहरूबारे सोधपुछ गरेका छन् ।
नयाँ पत्रिका होटेल पुग्दा उनीहरू सोधपुछ तथा सिसिक्यामेरा फुटेज चेकजाँच गरेर निस्किसकेका थिए । सञ्चालक गौतमले मन्त्रीहरू सोधपुछका लागि आएको पुष्टि गरे । तर, मन्त्रीहरूले नयाँ पत्रिकासँग भने यसबारे खुलाउन चाहेनन् ।
नयाँ पत्रिका संवाददाता बिहीबार सांसद एवं पूर्वस्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवको महोत्तरीको सस्सी गाउँपालिका–४ गैढास्थित घर पुग्दा यादवकी श्रीमती, दुई छोरी र एक ज्वाइँ घरमै भेटिए । तर, उनीहरू त्रसित थिए ।
‘भिनाजुसँग पूर्वआइजिपी सर्वेन्द्र खनालजीको पहिलेकै चिनजान हो । बिहानै ८ बजेपछि भिनाजुलाई सर्वेन्द्रजीले फोन गर्नुभएछ । कता हुनुहुन्छ भेटौँ भन्नुभएछ । आफ्नै जिल्लामा आएर अतिथिले भट्न खोज्दा भिनाजुले हुन्न भन्न सक्नुभएन,’ सुरेन्द्र्रका साला सञ्जयले भने, ‘तर, भिनाजुले आफू जनकपुर रहेको र गाउँको घरतिर जान लागेको बताएपछि उहाँहरूले गाउँकै घरमा आउँछौँ भन्नुभएछ । उहाँहरूको बाटैमा भेट भएर घर आउनुभएछ । सर्वेन्द्रजी, महेशजी र किसन श्रेष्ठ तथा उहाँका अरू मान्छेहरू थिए ।’
१० बजेपछि घर आएका सबैजना खाना खाएर केहीबेर बसेको र सर्वेन्द्रजीको आग्रहमा भिनाजुसहित निस्किएको बताए । ‘सर्वेन्द्रजीले बारातिर जाऊँ भनेपछि भिनाजुले जनकपुरमा आफ्नो जरुरी काम भएको बताउनुभएछ,’ सञ्जयले भने, ‘त्यसपछि उहाँहरू पनि जनकपुरतिरै जाने भन्नुभएछ । जनकपुरमा केही समय बिताएपछि सर्वेन्द्रजीले भिमानतिर जाऊँ भनेर आग्रह गरेपछि भिनाजुले नाइँ भन्न नसकेको मलाई भन्नुभयो । त्यसपछि भिमान हुँदै काठमाडौं गएको बताउनुभएको छ ।’
यी कुरा आफूलाई भिनाजुले फोनमा भनेको उनले बताए । भिनाजुले बुधबारै आफूलाई पनि बोलाएको, तर घरमा काम परेकाले जान नसकेको पनि उनले सुनाए । उनका अनुसार सांसद यादवसँग गाउँकै राजेश यादव काठमाडौं गएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा रंजन भण्डारीले लेखेका छन् ।