राैतहट, ८ बैसाख ।
नेपाल भारत सीमामा आवतजावतलाई पूर्णरुपमा रोक लगाउन रौतहट सदरमुकाम रहेको गौर नगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ । गौर नगरपालिका वडा नं . १ मा सशस्त्र प्रहरीसँग मिलेर काम गर्न स्वयंसेवकका रुपमा सात जना युवा परिचालन गरेको मेयर अजय कुमार गुप्ताले जानकारी दिनु भयाे । नेपाल भारत सीमा जोडिएको गौर नपा १ भएर हुने आवतजावतलाई पूर्णरुपमा ठप्प पार्न वडाध्यक्ष भरत साहको पहलमा स्थानीय युवकहरुलाई परिचालन गरिएको हो ।
सशस्त्र प्रहरीसँग मिलेर स्थानीय स्वयंसेवकले बन्दाबन्दीको अवधीभरी काम गर्ने छन् । स्वयंसेवकहरुको मुख्य काम नै दुई मुलुकको सीमा वारपारको आवतजावत रोक्न सशस्त्र प्रहरीलाई सहयोग गर्नु भएको मेयर गुप्ताले बताएका छन् ।नेपाल र भारत दुवै देशले बन्दाबन्दी घोषणा गरी सीमापार आवतजावतलाई पूर्णतया निषेध गरिएको छ । तर पनि लुकीछिपी आवतजावत हुनसक्ने सम्भावनालाई समेत ध्यानमा राखेर स्थानीय युवा परिचालन गरिएको र उनीहरुले आफ्नो सम्पूर्ण व्यवस्थापन आफैले गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष साहले बताए ।भारतले २१ वैशाखसम्म र नेपालले १५ वैशाखसम्म बन्दाबन्दी घोषणा गरेको छ ।