रौतहट, २५ चैत ।
पाकिस्तानबाट धर्म प्रचारका लागि नेपाल आएका ९ जना पाकिस्तानी नागरिकहरुलाई रौतहट प्रहरीले नियन्त्रणमा लिई एक मस्जिद भित्रको क्वारेन्टाइनमा राखेको छन् ।
जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.–२ को करुनियामा रहेको मस्जिद भित्रैको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
करिब ३ महिना अगाडी नेपाल आएका पाकिस्तानी नागरिकहरु महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई हाल उनीहरू बसेकै मस्जिदमा क्वारेनटाइनमा राखिएको रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो ।
उहाँले ती पाकिस्तानी नागरिकहरूलाई मस्जिदबाट निस्किएर बाहिर नहिड्न भनेको र उनीहरूको गतिविधिमा पनि प्रहरीले निगरानी गरिरहेको जानकारी दिनुभयो । ‘उनीहरू लकडाउन अगाडिनै विभिन्न धार्मिक कृयालापमा सहभागी हुन नेपाल आएका रहेछन्’ खड्काले भन्नुभयो, ‘हामीहरूले उनीहरूलाई मस्जिदभित्रै बसिरहन निर्देशन दिएका छौँ र निगरानीको लागि प्रहरी परिचालन पनि गरेका छौँ ।’
यस बाहेक जिल्लामा यस्तो अन्य समूहहरू पनि रहेको हुनसक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको उहाँको भनाइ छ । उहाँले लकडाउन प्रभावकारी बनाउन जिल्लाभर प्रहरी गस्तीलाई तीब्रता दिइरहेको र बिनाकारण लकडाउन उल्लघंन गर्ने विरूद्व कडा रूपमा प्रस्तुत हुन मातहतका प्रहरी युनिटहहरूलाई निर्देशन पनि दिएको दावी गर्नुभयो ।
रौतहटमा स्थापना गरिएको २६ वटा क्वारेन्टाइनमा हाल १५ महिला सहित २ सय ४४ जनालाई राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
कोरोनाको आशंकामा जिल्लामा हालसम्म १७ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिर्पोट कोरोना निगेटीभ देखिएको छ ।