बारा २५ फागुण । बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार १२ बर्षपछि पक्राउ परेका छन् ।
गएराति विशेष सूचनाको आधारमा बाराको बारागढी गाउँपालिका–६ गडहलगाउँस्थित घरैबाट फौजदार पक्राउ परेका हुन् ।
२०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाउँ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेका थिए ।
साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए ।

अपहरित पत्रकारको अवस्था सार्वजनिक गर्न अन्तर्राष्ट्रियस्तरमा आवाज उठ्न थालेपछि खोजतलास गर्दैजाँदा अपहरणको झण्डै एक महिनापछि प्रहरीले पत्रकार बिरेन्द्र साहको शव फेला पारेको थियो ।
बाराको पिपरा गाउँबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो ।

साहको हत्यामा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेल लगायत दुई जनालाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेको थियो ।

१२ बर्षपछि पक्राउ परेका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन् ।

स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्बाददाता थिए । सभार रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here