जनकपुरधाम, ११ पाैष ।
प्रदेश नं. २ सरकारले “बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत आउंदो माघ २ गतेदेखि बिमा सप्ताह संचालन गर्ने भएको छ ।
कर्मचारी अभाव लगायतका कारणले सरकारले अपेक्षा अनुसार विमा हुन नसक्दा प्रदेश सरकारले माघ २ गतेदेखि प्रदेशका ८ वटै जिल्लाका प्रत्येक स्थानीय तहमा शिविर संचालन मार्फत घरदैलोमै पुगी विमा लगायतको अन्य सुविधा प्रदान गर्न बिमा सप्ताह कार्यक्रम संचालन गर्न लागेको हो ।
२०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाको लागी विमा गर्ने सरकारले घोषणा गरे पनि अपेक्षित सफलता पाउन नसकेपछि शिविर संचालन लगायतका कार्यक्रम ल्याउन लागेको हो । उक्त शिविरमा शिक्षा विमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निशुल्क औषधी वितरण सहितका कार्यक्रम समेत गरिने जनाइएको छ ।सो अभियानले विभिन्न कारण विमा गराउन नसकेका छोरीहरुलाई समेटिदै पछिल्लो एक वर्ष भित्र जन्मेका छोरीहरुको विमा शत प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ ।