काठमाण्डौं, ८ मंसिर ।
नेपाल सरकारले हेरफेर गरेको मन्त्रीपरिषदका क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विधिवत रुपमा आजबाट आफुले पाएको नयाँ मन्त्रलायको जिम्मेवारी सम्हालेका छन् ।
सोमबार सिंहदबारमा पुगेर उनले सो मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।
नयाँ मन्त्रालय पाएका यादवले आफूलाई प्रधानमन्त्रीले बढी नै माया गरेर सो मन्त्रालयमा पठाएको भन्दै व्यङ्ग्य गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
सोही जिम्मेवारी ग्रहण गर्दै उनले त्यसलाई आफूले सामान्य रुपमा लिएको बताए । प्रधानमन्त्रीले तपाईसँग परामर्श समेत नगरी मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नु भो नि ? भन्ने संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्रीले सो विषयमा परामर्श गरिराख्नु नपर्ने पनि स्मरण गराए ।
प्रधानमन्त्रीबारे जे प्रतिक्रिया दिए पनि मन्त्रालय परिवर्तनको विषयलाई लिएर मन्त्री यादव सन्तुष्ट नरहेको पार्टी स्रोत बताउँछ ।
सोही विषयमा पदाधिकारीमा छलफल समेत भइसकेको छ भने सरकारसँग यसअघिको सहमतिको विषयमा छलफल गर्न वार्ता समिति गठन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here