झापा २९ कात्तिक दमक (झापा) गौरादह नगरपालिकाले चालु आर्थिक वर्षमा डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याए पनि कहाँ बनाउने भन्ने टुंगो लागेको छैन। स्थानबारे छलफल भए पनि यकिन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाई भएको हो। नगरको बजार क्षेत्रबाट संकलन हुने फोहोर फाल्ने उचित स्थानको अभावमा हाल वडा नम्बर १ को वडा कार्यालय अगाडि नै फोहोर फाल्ने गरिएको छ। वडा कार्यालय अगाडि तथा गौरादहका पहिचानका रुपमा रहेका पोखरीको डिलैमा फोहोर फाल्ने गरिएको हो। नगरपालिकाका प्रवक्ता समेत वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारीले चाँडै फोहोर फाल्ने स्थानको टुंगो गरिने बताए। यसका लागि नगरपालिकाकै जुरोपानीमा नगरपालिकाको स्वामित्वमा रहेको तीन बिघा जमिन उपयोग गर्नेबारे छलफल भइरहेको बताइएको छ। योजना नहुँदा बजेट फ्रिज नगरपालिकाले गत वर्ष पनि डम्पिङ साइटका लागि बजेट छुट्याएको थियो। तर, त्यसको कार्यान्वयनका लागि योजना नहुँदा बजेट कार्यान्वयन हुन सकेन। नगरपालिकाले दुई वर्षदेखि डम्पिङ साइटका लागि जग्गा खोजी गरेको भए पनि जमिनको व्यवस्था हुन नसकेको नगरप्रमुख रोहितकुमार शाहले बताए। जमिनको व्यवस्था नभएकै कारण विनियोजित रकम समेत खर्च हुन सकेका छैन। यस वर्ष पनि जमिनको व्यवस्था र कार्ययोजना तय हुन सकेको छैन। जसका कारण बजेट कार्यान्वयनमा अझै शंका छ। तर, नगरप्रमुख शाह भने यस वर्ष बजेट फ्रिज हुन नदिने गरी तयारीमा लागेका बताउँछन्। नगरले प्रमुख महत्त्व दिएका चार योजनामध्ये १२ बिघाको पोखरीमा घेराबारा गरिएको र नयाँ डिपिआर समेत बन्ने प्रकृयामा रहेको प्रमुख शाहले बताए। यस वर्ष समेत प्रदेश सरकारसँगको सहकार्यमा पोखरी व्यवस्थापन, पूर्वाधार निर्माण तथा प्रवर्द्धनको काम गरिने जनाइएको छ। अन्य तीनवटा योजना बसपार्क, खेलमैदान र डम्पिङ साइट निर्माणको योजना भने अन्यौलमै छ। योजनाबिनै बजेट विनियोजन गत असार ३१ मा पारित आर्थिक वर्षको बजेट पुस्तिका गौरादह नगरपालिकाले केही दिन अघि सार्वजनिक ग¥यो। कुल ८५ करोड ५२ लाख रुपैयाँको बजेटमा भरसक सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ। जसमध्ये केही नगरका महत्त्वपूर्ण भनिएका कार्यक्रममा अन्य भन्दा ठूलो अंक रकम समेत विनियोजन गरिएको छ। तर, यी कार्यक्रम कहाँ र कसरी कार्यान्वयन गर्ने भन्ने योजनै छैन।गौरादहका पोखरीहरुको प्रवर्द्धन र विकास, बसपार्क निर्माण, खेलमैदान निर्माण तथा डम्पिङ साइट निर्माण नगरले प्राथमिकतासहित बजेट विनियोजन गरेका कार्यक्रम हुन्। यी प्रत्येक कार्यक्रमका लागि १÷१ करोड रुपैयाँ विनियोजन गरिएको छ। तर, यी चारमध्ये पोखरीको विकास र प्रवर्द्धनको कार्यक्रम गत वर्षदेखिनै कार्यान्वयनमा रहेको छ भने बाँकी तीन कार्यक्रमका लागि योजना बनिसकेको छैन। नगरपालिकाका प्रमुख रोहितकुमार शाहले नगरका लागि यी कार्यक्रम महत्त्वपूर्ण ठानिएकाले रकम विनियोजन गरिएको र अब काम शुरु गर्ने बताए।