चितवन २३, कात्तिक । मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तनहुँको व्यास नगरपालिका–१४ का २४ वर्षीय बुद्ध पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रामनगरबाट जुगेडीतर्फ गइरहेको ग १४ प ७१६८ नम्बरको मोटरसाइकल नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर २९ भतेरीमा अनियन्त्रित भई पल्टिँदा चालक पन्त गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार व्यास नगरपालिका–१३ का २५ वर्षीय सुरेश हर्ख घाइते भएका छन्। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।