रौतहट, १६ कार्तिक ।
चार दिवसीय महापर्व छठको शनिबार मुख्य दिन साझा अस्ताउदो सुर्यलाई अर्घ दिन तराई–मधेस लगायत रौतहटमा रहेका विभिन्न नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतमा झकिझकाउ पारिएको छ ।
शनिबार ब्रतालु तथा परिवारजनले घरघरमा बिहानदेखि लोकप्रिय प्रसाद ठेकुवा, भुसुवा, खाजा भनिने एक प्रकारको मिठाई तयार पार्ने गरेका छन । रौतहटमा अपरान्हः घरको आँगनलाई लिपपोत गरी चोख्याउने र चोखो ठाउँमा बाँसको नांग्लो र ढाकी मिलाएर राख्ने गरेका छ । नांग्लोमा पुजा सामग्री सजाउछन । एकपटक घरमै कुल देउतालाई पुजा गरेपछि सामग्रीसहितको नांग्लोलाई पुनः ढाकीमा सजाउने गरेका छन । त्यसमाथि सावधानीका साथ बलिरहेको दियो राख्छन । यसपछि नयाँ पहिरनमा ब्रतालुसहित सारा परिवार पुजा सामग्री बोकेर घाटतिर लाग्ने गरेका छन । प्रसादले भरिएको ढाकी भने जिम्मेबार व्यक्तिलाई बोक्न लगाउँछन । लोक आस्थाको यो पर्वको तेस्रो दिन शनिबार साँझ एवं चौथो दिन आइतबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित पुगेपछि ब्रतालु एवं परिवारजनले सूर्यदेवलाई अर्घ दिने छन । बिहानीको अर्घ लगतै छठ माताको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठानको समापन हुनेछ । अन्तिम दुई दिन घाट भनिने नदी, पोखरी एवं नहर किनारमा दिपावलीझैं माहोल रहने छ ।

रौतहटका घाटहरुमा केही दिन अगाडीदेखि नै सरसफाइ, निर्माण र सजावटमा स्थानीयवासी जुटेका थिए । बिहानीको पुजापछि अर्घ दिने, ब्रतालुको आशिर्वाद लिने एवं ठेकुवा, भुसवा लगायतका प्रसाद समग्री माग्न आउनेको घाटमा ओइरो लाग्ने गरेका छन । भरपुर आस्थाका साथ प्रसाद माग्न आउने, बाँडने एवं मुख्य उपासकलाई ढोकेर आशीष लिने क्रम घरदेखि घाटसम्म निरन्तर चल्ने हुन्छ । यो धार्मिक अनुष्ठानपछि ब्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ । सूर्यदेवको पुजाका लागि अर्को दिन बेलुकी पख र भोलिपल्ट बिहान घरबाट नजिकैको जलाशय किनारमा पुग्ने सम्झनाले ब्रतालु एवं आफन्तजनलाई रातभरी अनिदो बसेर रमाइलो गर्ने गरेका छन ।