रौतहट ११, कात्तिक । दिपावलीका लागि बालिएको दियोबाट रौतहटको ६ स्थानमा आगलागी भएको छ । त्यस्तै करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घटनामा लाखौंको क्षति भएको छ । गुजरा नगरपालिका ९ सिम्राभवानीपुरका छठु ठाकुरको दुईतले काठको घरमा भएको आगलागीमा अन्नपात र लताकपडा गरी दुई लाख रुपैयाँ बराबरको क्षति भएको त्यस्तै बौधीमाई नगरपालिका वडा नम्बर ६ का बिन्दाराय यादवको घर आगलागी हुँदा २ लाख, वडानम्बर ४ का लखिन्दर यादवको गोठ आगलागी हुँदा ४० हजार बराबर क्षति भएको छ । उता मौलापुर नपा १ का बसन्त बैठाको कच्ची घरमा आगलागी हुँदा १ लाख ४० हजार, वडानम्बर ६ का हरेन्द्र महराको गोठ आलगागी हुँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आइतबारै दुर्गाभगवती गापा ५ का लखिचन्द साहको ५० हजार नगद तथा ४० हजार बराबरका कपडा जलेका छन् । उता दिवालीमा वत्ति बाल्न बिद्युत जडान गर्ने क्रममा कटहरिया नपा १ का छठु महराका १८ बर्षीय छोरा हरिकिशोर महराको करेन्ट लागेर ज्यान गएको छ । चन्द्रपुर ६ स्थित आफन्तको घरमा बिद्युतको स्वीच जोडने क्रममा आईतवार महरालाई करेन्ट लागेको हो । उनको तत्कालै उपचारका लागी चन्द्रपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कबित कटुवालले जनाएका छन् ।