काठमाडौं,१२,मंसिर ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको प्रदूषण रोक्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् ।चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको भन्दै सुनवलवासीले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरेका छन् ।मिल सञ्चालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर पानी न्यूनीकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलवासी त्यसको प्रत्यक्ष मारमा परिरहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए । मिलले प्रदूषण न्यूनीकरण नगरे मिल चलाउन नदिने उनले चेतावनी दिए ।संघर्ष समितिका उपसंयोजक टेकप्रसाद न्यौपानेले चिनी मिल सञ्चालकले मिलको प्रदूषण न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने दूषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर गरिरहेको बताए ।२०४६ सालमा तत्कालीन श्री ५ सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेड स्थापना भएको थियो । सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण भएको थियो । ८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छन् ।चिनी मिलबाट सुनवल नगरपालिकाका वडा १, ३, ४ र ६ वडा प्रत्यक्ष मारमा परेको र यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेको स्थानीयको भनाइ छ । चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदूषण न्यूनीकरणका लागि विभिन्न सहमति सम्झौता गरेपनि हालसम्म कार्यान्वयन नगरेको आरोप पनि स्थानीयले लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here