चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौं भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने–दिने प्रचलन विशेषगरी दसैंको अवसरमा बढी हुने गरेको छ ।के गाउँ ? के सहर ? सबैतिर नयाँ नोटकाबारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले यही असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दसैं पर्वमा खासगरी साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध हुने जनाएको छ । केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ ।यस्तै, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयमासमेत चाडबाडलाई केन्द्रमा राखेर नयाँ नोट साटन पाइने उल्लेख छ । बैंकले रु पाँच, १०, २०, ५० र १०० दरका एक/एक पकेट गरी प्रतिव्यक्ति रु १८ हजार ५०० का दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ । सो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने बैंकको भनाइ छ ।यस्तै, बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमासमेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले सूचनामार्फत् जानकारी दिएको छ ।नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँबानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।त्यस्तै, अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here