पाल्पा, भदौ १९। तानसेन नगरपालिका–७ रस्साकी १८ वर्षीया सपना विक मृत अवस्थामा फेला परेकी छन्। सोही वडाको चुच्चेबारीस्थित जंगलमा उनी झुण्डिएको अवस्थामा बुधबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। उनका अनुसार विक १६ गतेदेखि परिवारको सम्पर्कमा थिइनन्। बुधबारसम्म घर नआएपछि विकको परिवारले खोजी गरेका थिए। खोज्ने क्रममा उनी झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। घटना शंकास्पद रहेको विकका परिवारले दावी गरेका छन्। मृतक विककी मामा लिलबहादुर सुनारले आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरी दिएका छन्। उनीहरूले आत्महत्या नभई हत्या भएको समेत दावी गरेका छन्। प्रहरीले घटनाको आशंकमा एक किशोलाई नियन्त्रणमा लिएको छ। रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का १९ वर्षीय लोकनारायण खनाललाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जिसीले बताए। खनालविरुद्ध बिहीबार आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गरिएको छ। खनाल र विकबीच विगत केही समयदेखि चिनजान भएको बुझिएको छ। फोनमार्फत चिनजान भएका विक र खनाल यही भदौ १६ गते भेट भएका थिए। तीजको दिन बिहान ११ बजे रमाइलो हेर्न भनी घरबाट निस्किएकी विक १८ गतेसम्म घरमा नआएपछि परिवारले खोजी गरेका थिए। खोज्ने क्रममा खनालसँग भेटेको भन्ने सूचना पाएपछि परिवारका सदस्यले उनलाई सम्पर्क गरेका थिए। सम्पर्कमा आएका खनालले विकसँग भेटेरसँगै बसेको स्वीकार गर्दै बसेको स्थानसमेत देखाउन पुगे। त्यहि समयमा उनीहरू बसेको भनिएको ठाउँ नजिकै विक रूखमा झुण्डिएको अवस्थामा भेटिएको हजुरबुबा एकनारायण चुँदारोले बताए। ‘तानसेनस्थित प्रभासमा भेट भएका उनीहरू दुवैजना तानसेन–७ मा नै पर्ने चुच्चेबारीको जंगलमा गएर रातभरी त्यही बसेको पाइएको छ’ प्रहरी उपरीक्षक जिसीले भने। घट्नाको प्रकृति र प्रारम्भिक अनुसन्धानमा खनालले विकसँग शारीरिक सम्बन्ध राखेको समेत खुलेको छ। घटनास्थलममा रगतसमेत फेला परेको उनले बताए। यद्यपि घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जिसीको भनाइ छ। घटना आत्महत्या वा हत्या हो भन्नेबारे अहिल्यै केही भन्न नसकिने उनले बताए।
थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here