भदौ १७, २०७६ जुम्ला : चन्दननाथ नगरपालिका-१ आर्चाया बाडाको ठिन्केमा एक घरमा आगलागी भएको छ। ठिम्केमा रहेको जगतबहादुर रावतको घरमा बिजुलीको तार सट भई लागलागी भएको जिल्ल्ला प्रशासन कार्यालयले जनाएको छ। सोमबार राति ११ बजे स्थानीय नागरिकबाट जिल्ला प्रशासनको लेडलाइनमा फोनमार्फत जानकारी भएलगत्तै जिल्ला प्रहरी कार्यालय, जुम्लाको टिमसहित विपद् व्यवस्थापकको टोली घटनास्थल पुगी स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिएको हो। आगलागी नियन्त्रणका लागि नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थलमा पुगेको थियो। आगलागीबाट घाइते भएका ३२ वर्षाका जगतबहादुर भण्डारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रतिष्ठानका अनुसार उनको स्वास्थ्यावस्था सामान्य रहेको छ। स्थानीयले नगरपालिकाको दमकलाई खबर गर्ने प्रयास गर्दा सम्पर्क हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। सुरक्षाकर्मी पुगेर बुझ्दा दमकल बिग्रिइएको बताइएको थियो। प्रहरीको टोलीले घटनाको मुचुल्का उठाएपछि मात्रै क्षतिको यकित विवरण आउने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।