मनहरी । पश्चिम मकवानपुरको मनहरी–६ स्थित सुनाचुरीमा रहेको मोरङगे ताल संरक्षणमा गरी पर्यटकीय स्थल निर्माण हुने भएको छ ।
ताल संरक्षण गरी पर्यटकीयस्थल निर्माणका लागि स्थानीयको सक्रियतामा निर्माण तथा संरक्षण समिति नै बनाई धमाधम संरक्षण तथा निर्माण भइरहेको छ । ताल वरिपरिका झाडी सरसफाइ, तारबार निर्माण, मचान निर्माण तथा पूर्व पश्चिम राजमार्गको नजिकै ताल पर्ने भएकाले गाडीमा यात्रा गर्ने यात्रुले जथाभावी फोहोर नगरुन् भन्दै अत्याधुनिक सुविधा सम्पन्न शौचालय निर्माणसमेत गरिरहेको हरियालि मोरङगे ताल पार्क तथा पर्या पर्यटन व्यवस्थापन समिति अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
शौचालय एकै चोटी २० भन्दा बढी यात्रुले प्रयोग गर्न सकिने छ । ब्रह्मादेबि लामिदमार मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा पर्ने ताल एक बिघा क्षेत्रफलमा फैलिएको छ भने ५ फिट भन्दा बढी गहिराई छ । तालमा भएको पानी बाह्रै महिना नसुक्ने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पर्यटन क्षेत्र निर्माण सम्पन्नपश्चात तालमा ठूला माछा, गोही कछुवा तथा अन्य पानीमा बस्ने प्राणीको अवलोकन गर्न सकिने छ भने जंगल क्षेत्रमा हात्ती, गैँडा, चित्तल, जरायो तथा अन्य विभिन्न जीवजन्तुको अवलोकन गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ । एक वर्ष अघिदेखि निर्माण कार्य थालिएको त्यस क्षेत्रलाई मनहरी गाउँपालिकाबाट ५ लाख, सुनाचुरी सामुदायिक वनबाट ५ लाख तथा राप्ती डिभिजन वन कार्यलय मनहरीबाट ८ लाख रुपैयाँ आर्थिक सहयोग भएको छ । आगामी एक वर्ष भित्र निर्माण कार्य सम्पन्न गराई पर्यटकलाई भित्र्याउने लक्ष्य राखिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई स्थानीयको आर्थिक स्तर वृद्धि गराउने उद्धेश्य समितिले राखेको छ भने एक सय भन्दा बढी स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाउने छन् ।