पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव आज (शनिबार)बाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मन्चन हुनेछन् ।
महोत्सवको उद्घाटन गर्दै पोखराका नगर प्रमुख धनराज आचार्यले मुनामदन नाटकको मदनको एउटा संवाद उद्घाटनका क्रममा सुनाए ।
समारोहमा बोल्दै अघिल्लो पुस्ताले सुरु गरेकोे विरासतलाई जोगाउदै नया पुस्ता अगाडि बढेको पनि बताए । उनले भने,‘नेचर, कल्चर र एड्भेन्चरको सहर पोखरामा कल्चर भित्रको विभिन्न विधाहरु मध्ये नाटक पोखराको अन्तरबस्तु हो । पोखरामा बस्न सफल छ । नाटक भन्ने वित्तिकै थुप्रै कुराहरुको अनुमान गर्न सक्छौ । अघिल्लो पुस्ताले सुरु गरेको विरासतलाई जोगाउँदै अगाडि बढ्ने सन्दर्भमा अहिले पोखरामा अनुप बरालजीको हंसध्वनीसहित थुप्रै कामहरु हुदैछन् ।’
पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले सुरु भएको महोत्सवमा नेपालसँगै विदेशी कलाकारहरुको पनि उपस्थिति रहने छ ।
महोत्सवमा नाटकको अलावा खुला छलफल तथा संवाद कार्यक्रम पनि आयोजना गरिनेछ । महोत्सव हेर्नको लागि दुई सय, तीन सय र पाँच सयको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here