वीरगञ्ज,२५,पुष।
वीरगञ्ज महानगरपालिकाको नगर सभाको १४ औँ अधिवेशनले चालु आर्थिक वर्षको वार्षिक बजेटमा २५ करोड रुपैयाँ थप गर्नुका साथै विभिन्न योजना तथा कार्यक्रमहरू परिमार्जन पनि गरेको छ ।बुधवारदेखि सुरु १४ औँ अधिवेशनको नगर सभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आर्थिक वर्षको बजेट थप गरेको हो ।अधिवेशनले विनियोजन ऐन २०८० मा समावेश भएको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट ३ अर्ब २१ करोडमा २५ करोडबाट बढाएर ३ अर्ब ४६ करोड पुर्याएको हो ।अधिवेशनले खाने पानीका लागि महानगरवासीको ४ हजार घरधुरीमा धारा जडान गर्न ८० लाख रुपैयाँ थप छुट्ट्याएको नगर भामा मेयर राजेशमान सिंहले बताए । भारतीय दूतावाससँगको सहकार्यमा महानगरका ४ हजार घरधुरीमा धारा जडानका लागि थप बजेट छुट्ट्याइएको महानगरका मेयर सिंहले बताए । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरी धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नु पर्ने २० प्रतिशत रकम विनियोजन गरेको उनले बताए ।
यस्तै बुधवारदेखि सुरु नगर सभामा मेयर सिंहले विभिन्न विधेयकहरू पनि पेस गरे । वीरगञ्ज महानगर सभाको कार्य सञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवम् संवर्द्धन विधेयक, सङ्घसंस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक सभामा पेस गरिएको हो ।साथै वस्ति विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयक पनि पेस भएको छ ।आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेस गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए । बुधवारदेखि सुरु नगर सभामा उपमेयर इम्तियाज आलम,तथा नगर सभा सदस्यहरूको सहभागिता रहेको छ ।








