नवलपरासी,२३ कात्तिक,  (बर्दघाट-सुस्ता पश्चिम) ।

पश्चिम नवलपरासीको रामग्राम स्तूपमा उत्खनन सुरु गरिएको छ ।रामग्राम नगरपालिका–७ मा रहेको रामग्राम स्तूपमा भएको विहार र ठूलो पोखरीको संरचना पत्ता लगाउने उद्देश्यले यही कात्तिक १५ गतेदेखि उत्खनन सुरु भएको युनेस्कोको सल्लाहकार तथा दुरहाम विश्वविद्यालयका प्राध्यापक रवीन कनिङमले बताए ।भगवान बुद्धको सिङ्गो अस्तुधातु रहेको उक्त स्तूपको पश्चिम उत्तर क्षेत्रमा भग्नावशेष खोज्न उत्खनन सुरु गरिएको उनको भनाइ छ । उनका अनुसार विहार र पोखरीको पर्खाल एउटै छ वा फरक छ भन्ने विषयमा पनि अध्ययन गरिनेछ ।विहार निकै ठूलो क्षेत्रमा फैलिएको प्राध्यापक कनिङमको भनाइ छ । यस क्षेत्रमा रहेको भग्नावशेष कहिले, कसरी र कस्को समयको बनेको हो ? भन्ने विषयमा अध्ययन गरिने उनको भनाइ छ ।रामग्राम स्तूपको विकासका लागि लुम्बिनी विकास कोषले बनाएको गुरुयोजनाअन्तर्गत उत्खनन सुरु भएको हो । स्तूप वरपर हाल विभिन्न भौतिक संरचना निर्माण भएका छन् । बिना योजनाको निर्माण गरिने भौतिक संरचनाले स्तूपको पुरातात्विक महत्वमा असर पर्ने उनको भनाइ छ । उत्खननका क्रममा हाल केही इँटा तथा पर्खाल जस्तो देखिने संरचना भेटिएको छ ।लुम्बिनी विकास कोषको वरिष्ठ पुरातत्वविद् अधिकृत हिमाल उप्रेतीले रामग्राम स्तूपमा पहिले मानव बस्तीको विकासबारे अध्ययन गरिने बताए । सन् २००८ तथा २००९ मा स्तूपमा जियोफिजिक्स गर्दा जमिनको सतहमुनि ठूलो विहार र पोखरीको भगनावशेष देखिएको पुरातत्वविद्ध उप्रेतिले बताए ।स्तूपमा सन् २००४ मा पहिलो पटक उत्खनन गरिएको थियो । ओरियन्टल कलचरल हेरिटेज प्रोटेक्सन अलाइन्स फन्डको आर्थिक सहयोग तथा युनेस्को, दुरहम विश्वविद्यालय र लुम्बिनी विकास कोषको संयोजनमा भइरहेको उत्खनन २८ दिनसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here