काठमाडौं,२३ कात्तिक, ।
२६ कात्तिकका दिन परेको लक्ष्मीपूजालाई लक्षित गरी बजारभरी झिलिमिली लाइटिङको बिक्री भइरहेको छ । घरहरु सजावट हुन थालेका छन् ।केही वर्ष अगाडिसम्म यस दिनलाई लक्षित गरी निकै तनावमा रहने नेपाल विद्युत् प्राधिकरण केही वर्षयता भने निकै सहज महसुस गर्छ ।प्राधिकरणका निर्देशक सुरेशबहादुर भट्टराई अहिले तिहारमा सबैभन्दा कम लोड लक्ष्मी पूजाका दिन हुने बताउँछन् ।‘उद्योगधन्दा बन्द हुन्छन्, व्यापारिक भवन बन्द हुन्छन्, सोहीकारण लाइटिङको मात्र लोड तुलनात्मक रुपमा धेरै नहुँदा तिहारमा सो दिन आजकल कम मात्र लोड हुन्छ,’ उनले भने ।केही समय पहिला सकेसम्म कम बिजुली खपत गर्न आह्वान गर्ने प्राधिकरणले अहिले भने विद्युत् खपत बढाउन आह्वान गर्दै आइरहेको छ ।नेपाल विद्युत् प्राधिकरणको तथ्यांक अनुसार २०७९ सालको लक्ष्मी पूजाका दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट पुगेको थियो ।जुन नेपालको कुल जडित क्षमताको आधा मात्र हो । २०७८ सालको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १२७० मेगावाट रहेको थियो ।गत वर्ष साँझ ६ बजेर १० मिनेटमा पिक डिमाण्ड रहेको थियो । पछिल्लो समय जलाशययुक्त कुलेखानी केन्द्र सञ्चालन नगरी समेत लोड व्यवस्थापन गर्न सक्षम भइरहेको छ ।साथमा लक्ष्मी पूजा र तिहारको पिक आवरकै समयमा समेत नेपालबाट भारतमा विद्युत् निर्यात समेत भइरहेको छ ।विद्युत् विकास विभागको तथ्यांक अनुसार आव २०७९/८० सम्म देशभर १४१ वटा ठूला आयोजनाले व्यावसायिक रुपमा जलविद्युत् उत्पादन गरिरहेका छन् । यी आयोजनाको कलु जडित क्षमता २ हजार ५५१ मेगावाट हो ।सौर्य, सहउत्पादन, १ मेगावाट भन्दा कम क्षमता, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र डिजेल प्लान्टबाट समेत जोड्दा कुल विद्युत् उत्पादन क्षमता २ हजार ७८४ मेगावाट पुगेको छ ।आव २०८०/८१ मा झण्डै ९ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।








