कमलामाई (सिन्धुली), २२ कात्तिक |
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।राहदानी बनाएर विदेश जान लाग्नुभएका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहनुुभएको छ । परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाई नहुने आठ रोपनीमा उहाँले व्यावसायिक सयपत्री खेती गर्नुभएको एक वर्ष बितिसकेको छ । उहाँलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत आर्जन भएको दर्नाल बताउनुहुन्छ ।किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोप्नुभएको थियो । बेर्ना रोप्दा, बिरुवाको जलमल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उहाँमा उत्साह उब्जिएको छ । वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उहाँ सुनाउनुहुन्छ । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरि बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नाले उत्पादन गर्नुभएको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाडाँैको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ ।सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती सुरु गरेको बताउने उहाँ गर्दै–सिक्दै, सच्याउँदै–सच्चिदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा हुनुहुन्छ । अहिले एक कठ्ठामा फूलखेती सुरु गरे पनि विस्तारै बढाउँदै जाने उहाँको योजना छ ।अहिले उहाँको फूलबारीमा सयपत्रीका फक्रिएका फूलैफूल छन् । अहिलेसम्म कसैले माग भने गरेका छैनन् । तैपनि नबिक्ने चिन्ता उहाँलाई छैन । तिहारसम्ममा घरबारीबाटै फूल बिक्री हुने उहाँको विश्वास छ ।
यता गोलञ्जोर गाउँपालिका–२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् । आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उहाँका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोप्नुभएको थियो । उहाँका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन । फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रतिबेर्ना रु तीन–पाँचसम्म किन्न पाइने हमालले जानकारी दिनुभयो । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उहाँलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट रु तीन लाख बढी आम्दानी हुने उहाँको अनुमान छ ।सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका–५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ । अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट रु ४० हजार आम्दानी लिएका थिए । यस वर्ष एक कठ्ठामा लगाएको फूलखेतीबाट रु १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी रु चार सयमा फूल बिक्री गर्ने गर्दछन् ।यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ । फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ । गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ । चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती सुरु गर्ने पहिलो किसान सुनकोशी–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ । फूल व्यवसायी बढ्दै गएका छन् । तिहार तथा अन्य समयमा पनि सयपत्री फूल जिल्लाबाट निर्यात हुन थालेको सम्बन्धित पालिकाका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रका प्रमुखहरू बताउँछन् । सयपत्री फूलको माग वर्षैभरि हुन्छ । तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने फूल व्यवसायी बताउँछन् ।








