तुलसीपुर (दाङ), १ कात्तिक |

तुलसीपुर उपमहानगरपालिकाले केही समयअघि औद्योगिक ग्राम निर्माणका लागि जग्गा तयारी अवस्थामा राखेको छ । जग्गा अतिक्रमण तथा किनबेच गरेकाहरुबाट समेत उपमहानगरपालिकाले जग्गा फिर्ता ल्याए पनि अहिले त्यो जग्गा अलपत्र अवस्थामा छ ।वडा नं १६ मा पर्ने ग्वारखोला किनारमा औद्योगिक ग्राम निर्माणका लागि कार्यपालिका बैठकले निर्णयसमेत गरेको थियो । अघिल्लो सरकारले औद्योगिक ग्रामका लागि सोही स्थान छनोट गरे पनि अझै काम अघि बढ्न सकेको छैन । साना तथा मझौला उद्योगलाई प्रवद्र्धन गर्न सोही स्थानमा औद्योगिक ग्राम बनाउने गरी सोच अगाडि बढाइएको भए पनि त्यो कार्य अघि नबढेको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताउनुभयो ।“ग्वारखोलाको निकास क्षेत्र जुन पहिले बगरका रुपमा थियो, त्यसलाई तटबन्ध गरेर निकास भएको जग्गा औद्योगिक ग्राम बनाउने कुरा भएको हो ।पछिल्लो समय आर्थिक सङ्कटले गर्दा पनि उद्योगको काम अघि बढ्न नसकेको हो । त्यसका लागि कार्यविधि निर्माण गर्ने गरी तयारी गरिएको प्रवक्ता वलीले बताउनुभयो ।तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले भने अझै पनि पक्का तटबन्ध निर्माण नभएको बताउनुभयो । साथै त्यहाँको जग्गा अतिक्रमण गर्नेहरुले पनि छाड्न नमानेको उहाँको भनाइ छ । साथै त्यहाँ विद्युत् विस्तार पनि भएको छैन । औद्योगिक ग्राम स्थापना भएमा युवाहरुलाई स्वरोजगार गर्न सकिने युवा वीरबल खड्काले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here