गलकोट (बागलुङ), १ कात्तिक |

दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यी सहकारी संस्थाले बचत कर्ताको रू साँढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचत कर्ताको बिचल्ली भएको हो ।इमेज सहकारीले रू डेढ अर्ब बचत उठाएर फरार भएपछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीविरुद्ध बचत पीडित राँके जुलुस तथा प्लेकार्डसहित सडकमा धर्ना बसिरहेका छन् । वडादसैँ सुरु भइसके पनि पीडितलाई दसैँले छुन नसकेको बचत पीडितहरुले बताएका छन् । उनीहरु दसैँ लागिसक्दा पनि सडकमै आन्दोलन गरिरहेका छन् ।इमेज सहकारी बचतकर्ता सङ्घर्ष समितिले सहकारीका अध्यक्ष एवं नगर प्रमुख देवकुमार नेपालीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै मङ्गलबार बागलुङ बजारमा सिठ्ठी जुलुस निकालेको थियो ।सहकारीले पोखरा र बागलुङमा गरी बचतकर्ताको करिब रू दुई अर्ब फिर्ता नगरेकाले उक्त रकम फिर्ताको माग गर्दै आन्दोलन थालिएको सङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनुभयो । गत जेठ ५ गतेदेखि फरार रहेका नेपालीलाई यथाशीघ्र पक्राउ गरी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने, इमेज सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राख्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको उहाँले बताउनुभयो ।

छ महिनादेखि चुनौती दिएर फरार भएका नेपालीलाई राज्यले कानुनी दायरामा ल्याउन नसक्नु दुःखद् हो ।” सबैलाई दसैँ लागे पनि बचत कर्तालाई दशा लागेको बताउँदै नेपाली कानुनी दायरामा नआउँदासम्म आन्दोलन जारी रहने उहाँको भनाइ थियो ।रू डेढ अर्ब रकम हिनामिनापछि भागेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटनका नगरप्रमुख देवकुमार नेपाली छ महिनादेखि बेपत्ता छन् ।नेपालीको खोजीमा राज्यले पहल नगरेको भन्दै पीडितले राज्यको ध्यानाकर्षण गराउन निरन्तर सडक आन्दोलन गरिरहेका छन् । एक हजार सात सयको बचत उठाएर नेपाली फरार भएपछि बचत कर्तालाई दसैँले छुन नसकेको पीडित यामप्रसाद शर्माले बताउनुभयो । गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म नखुलेको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा तरलता अभाव देखाएको सहकारीले अन्ततः पैसा हिनामिना पारेपछि बन्द भएको छ ।उनीविरुद्ध प्रशासनले डेढमहिनाअघि नै गृहमन्त्रालयमा ‘रेडकर्नर नोटिस’ जारी गरिदिन सिफारिससमेत गरेको थियो । रेडकर्नर जारी हुँदा अन्तर्राष्ट्रिय तहमा पनि अभियुक्तको खोजी गर्न सकिने प्रावधान भए पनि अहिलेसम्म रेडकर्नर नोटिस जारी नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । नेपालीको खोजी कार्य भइरहे पनि अहिलेसम्म उहाँलाई पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here