काठमाडौँ, १० असोज |
“गत साउन १२ गतेदेखिको अबिरल वर्षापछि आएको बाढी र पहिराले हुम्लामा ठूलो धनजनको क्षति भयो, म त्यहाँको जनप्रतिनिधि, प्रमुख प्रतिपक्षीबाट लगातार संसद् अवरुद्ध हुँदा मैले जनताको दुःख सदनमा राख्न पाइनँ, सधैँ संसद् अवरोध भएपछि उक्त घटना नै बासी भइसक्यो”, सदनमा जनताको पीरमर्का राख्न नपाएको गुनासो गर्दै हुम्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद छिरिङ डम्डुल लामा ।वर्तमान संसद् गठन भएको करिब नौ महिना पुगेको छ । तर संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकिरहेको छैन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विभिन्न विषयलाई लिएर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । जनप्रतिनिधिमूलक थलो संसद्मा पटक–पटक अवरोध हुँदा जनताका समस्या तथा गुनासोले उचित स्थान पाउन सकेको छैन ।रासससँगको कुराकानीमा सांसद लामाले भन्नुभयो, “जनप्रतिनिधिको नाताले केही कुरा राख्न खोजेको थिएँ, तर संसद्मा अवरोध भएका कारणले राख्न पाइनँ । बाढीले स्थानीय नागरिक, सडक, खेतबारी, पुलपुलेसा, घट्ट बगाएको छ । मैले ती विषय सदनमा राख्न पाएको छैन । हामीभन्दा धेरै पहिलेदेखि नै संसदीय व्यवस्थामा पोख्त भएको प्रमुख प्रतिपक्षी दलले बुझ्नुपर्ने हो । राष्ट्रको दुःख, पीरमर्का र जनताले भोगेको समस्या समाधानमा सदनमार्फत सरकारलाई खबरदारी गर्नुपर्नेमा संसद् अवरोध गरेर बाधा सिर्जना गर्नु राम्रो विषय होइन ।”
जनप्रतिनिधिमूलक थलो संसद् कोही–कसैको पनि बन्धक हुन नहुनेमा जोड दिँदै उहाँले बारम्बार संसद् अवरुद्ध हुनु राम्रो विषय नभएको बताउनुभयो । जनताले निर्वाचित गरेर पठाएपछि जुनसुकै पार्टीको भए पनि सदनमा उठेका विषयलाई गम्भीरताका साथ लिनुपर्छ भन्दै सांसद लामाले संसद्लाई निरन्तर सञ्चालन गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।“सदनलाई आफ्नो कामकारबाहीमा केन्द्रित हुने वातावरण बनाउनुपर्ने थियो । तर अहिलेको सन्दर्भमा प्रतिपक्ष दलले महिनौँसम्म संसद् अवरुद्ध गरिरहेको छ । यसले गर्दा जनतामा नराम्रो छाप परेको छ ।उहाँ नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभामा हुम्लाबाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । विसं २०४५ देखि राजनीतिमा सक्रिय लामा चौथो महाधिवेश (चौम), पातलो मसाल, मोटो मशाल हुँदै संयुक्त जनमोर्चमा आबद्ध हुनुभयो । उहाँ संयुक्त जनमोर्चा नेपालका तर्फबाट हुम्लाको तत्कालीन बर्गौ गाविसको निर्विरोध उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र जनयुद्धको घोषणा गरेपछि उहाँ हुम्लाबाट पहिलो भूमिगत कार्यकर्ता बन्नुभयो । माओवादीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्य, कर्णाली मुक्ति मोर्चाको सदस्य, तत्कालनी माओवादी जनमुक्ति सेनाको पश्चिम सैन्य डिभिजन ब्यूरो सदस्य, भेरी–कर्णाली स्वायत्त राज्य सदस्य, हेटौँडा महाधिवेशनबाट माओवादीको केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य, कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री बन्नुभयो । सांसद लामा हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार सदस्य हुनुहुन्छ ।
जनताबाट निर्वाचित भएर आएपछि सांसद्को मुख्य भूमिका कानुन निर्माणमा नै केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको उहाँको स्वीकारोक्ति छ । जनताले सङ्घर्ष गरेर ल्याएको व्यवस्थालाई बलियो बनाउन आवश्यक नीति, नियम, ऐन, कानुन बनाउन सांसद लाग्नुपर्ने उहाँको भनाइ छ ।विधायकले कानुन निर्माणमा आफूलाई उभ्याउनुपर्नेमा यसअघिका सांसदले जनतामा विकास लैजाने विषयलाई बढी प्राथमिकता दिएको र जनता पनि त्यसमा अभ्यस्त भइसकेको हुँदा अहिले आफूहरुलाई पनि दबाब परेको उहाँको भनाइ छ । “विगतका सांसदले ऐन, कानुन निर्माण गर्नुभन्दा पनि विकासमा बढी होमिएको देखाएपछि अहिलेका सांसदलाई दबाब बढेको छ । निर्वाचनबाट एउटै पार्टीको बहुमत नआउँदा सोचेजस्तो कानुन निर्माण गर्न नसकिएको उल्लेख गर्दै उहाँले पछिल्ला दिनमा सरकारले महत्त्वपूर्ण विधेयक सदनमा पेस गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केपछि त्यसले गति लिने विश्वास व्यक्त गर्नुभयो ।“हामीलाई अहिले असाध्यै गाह्रो छ । जनताले विकासले अपेक्षा गरेको छ । तर सङ्घीय सांसदको भूमिकामा हामीले ऐन, नियम र कानुन निर्माणमा जुट्नुपरेको छ ।कानुन निर्माण गर्न सांसद्को भूमिका अत्यन्त महत्त्वपूर्ण हुने जनाउँदै सांसद लामाले संसद् बैठकमा नियमित उपस्थित भएर सांसदले विधेयकमाथिको छलफलमा सक्रियतापूर्वक भाग लिनुपर्ने बताउनभयो । उहाँले राष्ट्रिय महत्वका विषयमा सदनमा आवाज उठाउनुपर्नेमा जोड दिँदै संसद्लाई प्रभावकारी बनाउन सबै सांसद एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।








