नेपालगञ्ज, ९ असोज |

बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् ।नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरू बताउनुहुन्छ । “पहिले मधेसी र मुस्लिम समुदायका महिला स्वास्थ्य जाँच गर्न लाजले मान्दैनथे तर अहिले विस्तारै आफ्नो समस्या भन्न थालेका छन्”, अभियन्ता तथा फातिमा फाण्डेसन, बाँकेकी अध्यक्ष मैमुना सिद्धिकीले भन्नुभयो ।उहाँले महिलामा देखिने स्वास्थ्य समस्या टालटुल गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै चरम लापरबाहीका कारण समस्या जटिल हुँदै गएको बताउनुभयो । अध्यक्ष सिद्धिकीले बालविवाह र धेरै बच्चा पाउने समस्या देखिएकाले मधेसी र मुस्लिम महिला स्वास्थ्य समस्याबाट पीडित भएको जानकारी दिँदै २० देखि ४० वर्षका महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको उल्लेख गर्नुभयो । फातिमा फाण्डेसन नेपालको सहयोग र टेवा नेपाल काठमाडौँको आयोजनामा जिल्लाको जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगर नगरपालिकाको मधेसी तथा मुस्लिम बाहुल्य क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो । सो शिविरमा परीक्षण गराएकामध्ये १४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको छ ।उक्त शिविर नेपालगञ्जको १४ नं वडामा पनि सञ्चालन गर्ने तयारी भएको छ । अध्यक्ष सिद्धिकीले घरेलु महिला सबैभन्दा स्वास्थ्य समस्याबाट ग्रसित भएको भन्दै उनीहरूको उपचार प्राथमिकताको विषय हुनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here