मुगु, ८ असोज |

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउनुभएको छ ।मुख्यमन्त्री शर्मासहित भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको टोली आगलागी क्षेत्रको स्थलगत निरीक्षण गरी पीडित परिवारलाई प्रदेश सरकारका तर्फबाट राहत उपलब्ध गराउनुभएको हो ।सो अवसरमा मुख्यमन्त्री शर्माले पीडित परिवारसँग कुराकानी गरी समस्याबारे जानकारी पनि लिनुभएको थियो । मुख्यमन्त्रीसँग पीडित परिवारले जलेका घरको पुनःनिर्माण, विस्थापितलाई उचित राहतको व्यवस्था गर्दै पुनःस्थापना र तत्काल बस्न र खानाको व्यवस्था मिलाइदिन माग गरेका थिए ।आगलागी पीडित पद्मराज मल्लले मुख्यमन्त्री समक्ष घटना र क्षतिबारे विस्तृत जानकारी गराउनभएको थियो । आगलागी पीडित लक्ष्मी मल्लले आफ्नो होटेल जलेर पूरै खरानी भएको र लगाउने लुगासम्म पनि केही बचाउन नपाएको बताउनुभयो । उहाँले उचित व्यवस्थापन तथा व्यवसाय सुरु गर्नका लागि राहतको अपेक्षा गरेकोे मुख्यमन्त्री शर्मा समक्ष गुनासो गर्नुभयो ।आगलागी क्षेत्रको स्थलगत निरीक्षणपछि मुख्यमन्त्री शर्माले जिल्ला प्रशासन कार्यालय मुगुमा पीडित परिवारलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गर्नुभएको थियो । राहत वितरण गर्दै उहाँले थप राहत सामग्रीदेखि जलेका घर र व्यवसाय पुनःनिर्माण, पुनःस्थापनाका लागि प्रदेश सरकारबाट उचित निर्णय लिने आश्वासन दिनुभएको थियो ।आगलागी पीडित २३ घरपरिवारलाई मुख्यमन्त्री शर्माले चामल, दाल, म्याट, पाल, सिलिन्डर, चुलो, कुकर, थालीलागायतका सामान वितरण गर्नुभएको थियो । प्रदेश सरकारले प्रतिघर रु तीन लाख दिने निर्णय गरिसकेकाले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम पुनःनिर्माणका पठाइने उहाँको भनाइ छ ।गत शुक्रबार राति १२ बजे मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा कालिका मालिका मन्दिरको उत्तर दिशातिर रहेका आठ घर पूर्णरुपमा, तीन घर आंशिक र नौ व्यावसायिक पसल जलेर नष्ट भएका थिए । आगलागीबाट २८ परिवारका ९५ सदस्य प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here