काठमाडौं १६ साउन, ।
विष्णु रिमाल प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव मात्रै हैनन्, केपी शर्मा ओली प्रधानमन्त्री हुदाँका प्रमुख राजनीतिक सल्लाहकारसमेत हुन् । प्रतिपक्षी नेताका रुपमा सरकारका कामकारबाहीलाई आलाेचना गर्नु उनकाे दायित्वभित्र पर्छ । तर विहीबार उनले गरेका केही ट्विटले भने उनको ‘राजनीतिक’ परिचयलाई भने गिज्याउँछन् ।एमाले नेतृत्वको सरकार रहँदा र गठबन्धन सरकार बनेपछिका आर्थिक सूचकांकहरुलाई तुलना गर्दै उनले इन्फोग्राफिक सेयर गरेका छन् । रिमालको इन्फोग्राफिकका कतिपय तथ्यांक नै गलत छन् भने कपिपय तथ्यांकहरु आफूअनुकुलका राखेर मात्रै पोस्ट गरिएका छन् ।जनतालाई वास्तविक सूचना दिनेभन्दा ‘एमाले सरकारलाई राम्रो’ देखाउनमा मात्रै केन्द्रित केही ट्विटमा देशको अर्थतन्त्रका सूचक श्रीलंकाभन्दा बढी खराब रहेको देखाउन समेत खोजिएको छ । जसले गर्दा उनका ट्विटहरु तार्किकभन्दा प्राविधिक मात्रै बन्न पुगेका छन् ।रिमालले विदेशी मुद्राको सञ्चिति ओली सरकार हुँदा १४ खर्ब रहेकोमा गठनबन्धन सरकारले ११ खर्बमा झारेको उल्लेख गरेका छन् । त्यसैगरी मुद्रास्फिती (महँगी) दर ४.१९ प्रतिशतबाट ८.५६ प्रतिशत पुगेको उल्लेख गरेका छन् । जुन वास्तविक तथ्यमा आधारित नै देखिन्छ ।
तर, यस्ता आर्थिक पक्ष रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारको आपूर्तिमा पारेको, महँगिएको आयातले बढेको व्यापार घाटा, अन्तर्राष्ट्रिय मूल्यवृद्धि जस्ता पक्षसमेत कारण प्रभावित हुने भए पनि वर्तमान सरकारले महँगी कम गर्न र विदेशी मुद्राको सञ्चिति जोगाउन पर्याप्त काम नगरेको नै देखिएको नै छ ।तर, रिमालले ‘कसले गर्याे नेपाली पैसाको अवमूल्यन ?’ शीर्षकको इन्फोग्राफिकमा ओली सरकारको पालामा ११८ रुपैयाँ रहेको प्रतिअमेरिकी डलरको मूल्य गठबन्धन सरकारको पालामा १२७ रुपैयाँ पुगेको उल्लेख गरेका छन् । रिमालले यो इन्फोग्राफिकलाई ‘आर्थिक रूपमा मुलुकलाई खोक्रो पार्न केही गर्नै पर्दैन, भएको बिगार्दै गए पुग्छ । गठबन्धन अहिले त्यही गरिरहेछ–तथ्य हेरौं !’ भन्दै पोस्ट गरेका छन् ।तर, रिमाललाई थाहा हुनुपर्ने हो, अमेरिकी डलरसँग नेपाली मुद्राको मूल्य न सरकारको कामका आधारमा न रातारात बढ्न सक्छ, न सरकारको कार्यशैलीका कारण घटाउन नै ।
भारतीय रुपैयाँको स्थिति के छ र उसको विदेशी मुद्रासँगको विनिमय दर के हुन्छ भन्नेमा नेपालको विदेशी मुद्राको विनिमय दर आधारित छ । २०४८ पछि नेपालले भारतीय मुद्राबाहेक अन्यको विनमिय दर प्रणाली भारतीय मुद्राको विदेशी आवद्धतासँग जोडेको थियो । त्यसैले नेपालको भारतसँग स्थिर विनिमय दरको प्रणाली छ । भारतको १०० रुपैयाँसँग नेपालको १६० रुपैयाँ आबद्ध (पेग) भएको छ ।यही कारण भारुको मजबुतीका आधारमा नेपालमा डलरको मूल्य तल–माथि भइरहन्छ । अर्थविदहरुका अनुसार यसैका कारण डलरसँग भारु कमजोर हुँदा नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर हुँदै गएको हो ।भारुको विदेशी मुद्रासँगको दरमा आधारित भएर नेपाली मुद्राको मूल्य तय हुने कारण भारतीय अर्थतन्त्रका समस्या नेपालसँग सोझै जोडिन पुगेको छ । भारतमा मूल्यवृद्धि बढेको छ र रुस–युक्रेन युद्ध, अमेरिकाको ब्याजदर बढाउने नीति लगायतका कारण भारतीय मुद्रा कमजोर भएर आयातमा हुने खर्च बढेको छ । त्यसका कारण भारतमा डलरको माग र आपूर्तिबीच खाडल उत्पन्न हुँदा भारतीय मुद्रा हुँदै नेपाली मुद्रासम्मको मूल्य गिरिरहेको छ ।
डलरसँग नेपाली मुद्राको अवमूल्यन ओली सरकारको ४२ महिने कार्यकालमा पनि भएको थियो । यो सरकारको काम गराईसँग भन्दा बढी भारतीय मुद्राको मजबुतीसँग जोडिएको विषय हो भन्ने रिमालले नबुझेका त पक्कै हैनन् कि ?रिमालले सेयर गरेको शोधनान्तर स्थितिबारेको ‘कसले घटायो नेपालको (वैदेशिक) सम्पत्ति इन्फोग्राफिक्समा त झन तथ्यांक नै गलत छ । ओली सरकारले ३ अर्ब र गठनन्धन सरकार रहँदा ६ अर्ब घटाएको उल्लेख छ ।तर, तथ्य फरक छ । गत जेठ महिनासम्म देशको शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको छ । २०७८ असारमा ओली नेतृत्वको सरकार ढल्दै गर्दा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा थियो, त्यसको ठीक एक वर्षअघि २०७७ असारमा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा थियो । रिमालले राखेको तथ्य के सम्बद्ध हो र कसरी त्यसलाई एमाले सरकारलाई उम्दा देखाउँछ भन्ने खुल्दैन ।
रिमालले पोस्ट गरेको इन्फोग्राफिकले गठबन्धन सरकार बनेपछि चालु खाता घाटा ९ प्रतिशत पुगेको उल्लेख गरेका छन् । तर, त्यो केको अनुपातमा ९ प्रतिशत भन्ने खुल्दैन । सायद उनले कुल गाह्रस्थ्य अनुपापतको भनेका हुनसक्छन् । उनले बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको तथ्यांकसँग तुलना गर्दै नेपालको चालु खाता घाटा ती देशको भन्दा बढी भएको जनाएका छन् ।गत जेठसम्म नेपालको चालु खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा छ । ओली सरकार विदा हुँदासम्म चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा थियो । तर, ओली सरकार विदा हुनुभन्दा एक वर्षअघि २०७७ असारमा यस्तो घाटा ३३ अर्ब ७६ करोड रुपैयाँ थियो ।‘पैसाको खोलो बगाएर चुनाव जित्ने ध्याउन्नमा लागेको गठबन्धन सरकारले दशे खोक्रो बनाउँदैछ’ भन्ने सन्देश लेखेर नेपालको हात श्रीलकाको भन्दा पनि खराब बन्न लागेको सन्देश प्रवाह गर्न खोजेका छन् ।तर, चालु खाता घाटा र शोधनान्तर घाटा पछिल्लो एक वर्षमा भन्दा बढी ओली सरकारको अन्तिम एक वर्षमा ठूलो दरमा बढेको तथ्यलाई रिमालले लुकाएका छन् ।
रिमालले ओली सरकार हुँदा व्यापार घाटा १३ खर्ब ९० अर्ब रहेको र गठबन्धन सरकार बनेपछि त्यस्तो व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको उल्लेख गरेका छन् । तर, आर्थिक वर्ष २०७७/७८मा कोरोना महामारीको असरका कारण आयातको वृद्धिदर सुस्त भएको तथ्यलाई यो तथ्यांकले प्रतिबिम्ति गर्दैन ।आर्थिक वर्ष २०७५/७६ मै १३ खर्ब २१ अर्ब पुगेको व्यापार घाटा महामारी सुरु भएपछि आर्थिक वर्ष २०७६/७७मा १० खर्ब ९९ अर्बमा झरेको थियो । क्रमशः आयात बढ्दै गएर आर्थिक वर्ष २०७७/७८मा व्यापार घाटा पुनः १३ खर्ब ९० अर्बमा पुगेको थियो ।अहिले उच्च दरमा आयात बढ्दा समेत सरकारले आयात प्रतिस्थापनका लागि काम नगरेको प्रष्ट छ, तर यो क्रम पूर्ववर्ती सरकारकै पालादेखि सुरु भएको तथ्यलाई रिमालले देखाएको तुलनात्मक तथ्यांकले प्रष्ट्याउँदैन ।








