वालिङ (स्याङ्जा), ३१ भदौ |
स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ ।फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवद्र्धनका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, माछामासु लगायतका उत्पादन कृषि हाटबजारमा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष नेत्र कार्कीले बताउनुभयो । सिद्धार्थ राजमार्गको छेउमै सञ्चालन भएको हाटबजारबाट स्याङ्जा, पोखरा आवतजावत गर्ने यात्रुले बढी मात्रामा सामग्री खरिद गर्ने गरेका छन् । जसले गर्दा किसानले बजार खोज्दै हिँड्नुपर्ने अवस्था नभइ सहजरुपमा बिक्री भयो, आशा छ आगामी दिनमा किसानले अझै उत्पादन बढाउँदै लैजानु हुनेछ । प्रत्येक शनिबार सञ्चालन हुने कृषि हाटबजारलाई व्यवस्थित र नियमितरुपमा अगाडि बढाउने उहाँ बताउनुहुन्छ । प्रत्येक शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म किसानले उत्पादन गरेका वस्तु तथा उत्पादित सामग्रीको खरिदबिक्री हुन्छ ।स्थानीय उत्पादनलाई एकै ठाउँबाट खरिदबिक्री गर्नका लागि हाटबजार सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । गाउँपालिकाले २६ वटा तरकारी बालीको समर्थन मूल्य निर्धारण गरिदिएको छ । गाउँ-गाउँमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि ढुवानीमा समेत सहयोग गर्दै आएको उहाँले बताउनुभयो । हाटबजारमा किसानले उत्पादन गरेका कृषिजन्य तथा पशुजन्य उत्पादन बिक्री गर्न पाउने र आफूलाई आवश्यक परेका औजार, उपकरण खरिद गर्न पाउने गरी व्यवस्थापन गरिएको छ ।








