रौतहट, २८ वैशाख । रेड टेलिभिजन र रेड खबर डट कमकी संस्थापक स्वर्गीय श्रीमती रामा यादवको पूण्यतीथिको अवसरमा प्रदान गरिने “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट प्राईम टेलिभिजनका संचारकर्मी सिर्जना कार्कीलाई प्रदान गरिएको छ । श्रीमती रामा यादव स्मृति प्रतिष्ठानद्धारा विहिवार रेड टेलिभिजनको सभा हल गौरमा आयोजित एक कार्यक्रम बीच आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले संयुक्त रुपमा कार्कीलाई उक्त पुरस्कारको राशी र प्रमाण पत्र प्रदान गरेको हो । यसै गरी रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पोखराको पत्रकार अनिषा जयन्ती श्रेष्ठलाई छनाैट गरिएकोमा उक्त पुरस्कार आजै साेहि कार्यक्रममा नगद तथा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रेड टेलिभिजनका संयोजक जय प्रकाश यादवले जानकारी दिए । २६००५ रुपैया राशीको उक्त पत्रकारिता पुरस्कार स्वास्थ्य क्षेत्रमा रहेका विकृति एवं विसंगति हटाउनमा कलम चलाउने महिला पत्रकारहरु मध्ये देशभरिबाट एकजनालाई पुरस्कृत गर्दै आएको बताइएको छ । रामा यादव स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका कतिपय संचारकर्मीहरुले ज्यान गुमाउनु परेको दुखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई दुर गर्न अथक प्रयास गरेका संचारकर्मीहरुका लागि रामा यादव स्मृति पत्रकारिता पुरस्कारबाट संचारकर्मीहरुलाई राम्रो अवसर प्रदान गरेको चर्चा गरे । उनले पत्रकारिता पेशा समाज प्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरितीहरुलाई हटाउदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न सम्पूर्ण संचारकर्मीहरु संग आग्रह गरे । 
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले संचारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेको हुँदा सत्य, तथ्य, बस्तुपरकलाई ख्याल गर्दै रिर्पोटिंग गरेमा मात्रै समाचारको उद्देश्य पुरा हुने बताए । पत्रकार समाजको ऐना हुन्छ, ठिक त्यसै रुपमा संचारकर्मीहरु आफूहरुलाई त्यसैमा रुपमान्तरित गरेर पत्रकारिता गरेमा समाज, जिल्ला र राष्ट्रमा खोजे जतिको परिवर्तन हुने र देश विकासको गतिमा अघि बढ्ने धारणा उनले राखे । यस्ताे परिस्थितिमा यश पुरस्कारको घाेषणाले ठुलाे अर्थ राख्ने उनकाे भनाइ रहेको थियोे ।
रामा यादव स्मृति प्रतिष्ठानका संयोजक जयप्रकाश यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा, वरिष्ठ पत्रकार प्रभात कुमार झाले आम संचारकर्मीहरुले भोग्नु परेको पीडालाई पोख्दै कोभिड कालको समयमा भएको क्षतिहरुको हाल सम्म राज्यबाट उचित सम्बोधन हुन नसकेको बताए । साथै एक पत्रकारले गर्नुपर्ने काम कर्तव्यलाई बुझेर मात्रै पत्रकारिता गर्नुपर्ने अन्यथा फेसबुके पत्रकारिताको कुनै औचित्य नरहेको स्पष्ट पारे । वक्तव्यद्वयले यश विकट परिस्थिमा स्वर्गीय यादवका श्रीमान् जय प्रकाशले देखाएको साहस अविश्मर्निय रहेको बताए । रेड खबर डटकमका संपादक आलाेक पाण्डेले स्वागत मन्तव्य राखेकाे उक्त कार्यक्रममा नेपाल प्रहरीका एसपी विरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रविण शर्मा, सचिव मदन ठाकुर, दिनेश यादव, राकेश यादव, किशोरी यादव, चञ्चल झा, अभिमन्यु पटेल, राकेश यादव लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वर्गीय श्रीमती रामा यादवकाे स्थापित सालिक एव कार्यक्रममा राखिएको तस्बिरमा प्रमुख अतिथि , विशिष्ट अतिथि, अतिथि लगायत सबैले मालार्यापन गर्नु भएको थियोे । स्वर्गिय रामा यादवको विश्व महामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो कहरमा २०७८ बैसाख २८ गते उपचारका क्रममा गौर स्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो । उनको निधन भए पश्चात शोकमा डुमेका उनका परिवारहरुले धैर्य गरिरहेकै बेला उनका श्रीमान् जय प्रकाश यादवले श्रीमतिलाई सधै सम्झीन उक्त पुरस्कारको घोषणा गरेका थिए । 









