काठमाडौं २५ माघ ।
नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गर्नु भएको छ । संसद भित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाक्रीले जनतालाई फेरी पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिनु भयो । सचिव झाँक्रीले ठूला दलहरुले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहो¥याउनु भयो । उहाँले सरकारमा गएकाहरुले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताउनु भयो । सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अव जनताको अवस्था परिवर्तन हुने गरी काम गर्नेगरी सबै राजनीतिक दलहरुले योजना बनाउनुपर्ने बताउनु भयो । उहाँले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताउनु भयो ।








