काठमाडौं १४ माघ ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको बताउनुभएको छ । शुक्रवार मुस्लिम समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तराई, पहाड र हिमालमा बस्ने मुस्लिमहरुलाई विभाजित बनाउने प्रयास भइरहेको भन्दै क्षणिक फाइदाका लागि पूरा समुदायलाई नै खतरा हुने काम नगर्ने आग्रह गर्नुभएको हो । अध्यक्ष अन्सारीले कोही व्यक्तिको क्षणिक लाभ र लोभमा परेर अहिलेसम्म मुस्लिम समुदायले पाएका उपलब्धिहरु गुम्न नदिन सचेत गराउनु भयो । उहाँले मुस्लिम आयोगसँग काम गर्नका लागि आवश्यक जनशक्ति र
बजेट नभएको गुनासो पनि गर्नुभयो । उहाँले मुस्लिम आयोगमा काम गर्ने कर्मचारी एकजना पनि मुस्लिम नहुनु दुःखद् रहेको बताउनु भयो । उहाँले मुस्लिम आयोगलाई बजेट र भत्त सिध्याउने आयोगमा रुपमा आरोप लगाइरहेको भन्दै
आयोगको उद्देश्य नीति नियम लागू गर्ने रहेको र त्यसमा आयोग दत्तचित्त भएर लागिपरेको बताउनु भयो । अध्यक्ष अन्सारीले मुस्लिम समुदायको प्रतिनिधत्व गर्ने सांसदहरुले संसदमा जोडपूर्वक मुस्लिमह समुदायका मागहरु उठाउनसक्नुपर्ने बताउनु भयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिफ साहले आफू खान नपुगेर र नाम कमाउनका लागि राजनीतिमा नआएको बताउनु भयो । उहाँले संसदमा आफू उपस्थित हुँदा आफ्नो समयको अवमूल्यन भएको बताउनु भयो । उहाँले प्रतिनिधि सभाको बैठकमा नीति नियमको बारेमा छलफल हुनुपर्ने ठाउँमा एकले अर्कालाई घोचपेच
गर्ने काम मात्रै भइरहेको बताउनु भयो । उहाँले पार्टी सभापतिलाई आफूले १ वर्ष भित्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जनमुखी काम गर्न नसके सांसद पद छोड्ने भनिसकेको स्पष्ट पार्नुभयो । सांसद साहले संसदलाई मर्यादित बनाउन आफ्नो पार्टीले संसद महासचिवसँग आग्रह गरेको बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टी जनताको अवस्था परिवर्तनका लागि आएको पनि बताउनु भयो ।








