काठमाडौं १९ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिनु भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिनु भएको हो । सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गर्नु भएको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीेले जानकारी दिनु भयो । त्यसक्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गर्नु भएको थियो ।तर सबै मन्त्रालयका सचिवहरुले आजै सबै विवरण भने प्रधानमन्त्री समक्ष पेश गर्न सकेका छैनन् । मुख्यसचिव बैरागीका अनुसार भोली पुनःछलफल हुने र प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरुलाई निर्देशन दिनुहुनेछ । प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिनु भएको हो । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।







