काठमाडौं १६ पुस ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्ष भित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने दाबी गर्नुभएको छ । सरकारले आगामी सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीको भनाई थियो । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा पर्यटकहरुलाई भित्र्याउने काममा निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पार्नुभयो । सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा हुँदै आएको योगदान ह्वात्तै घटेको भएपनि अहिले सन्तोषजनक ढंगले सुधार भइरहेको उल्लेख गर्नुभयो ।सचिव अधिकारीले नेपालले भारत, चीन, सिंगापुर, भियतनामलगायतका एशियाली मुलुकहरुमा पर्यटन प्रवद्र्धनका लागि अभियान सञ्चालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । कार्यक्रममा बोल्दै होटल एशोसिएशन अफ नेपाल (हान) की अध्यक्ष सृजना राणाले होटल व्यवस्थालाई पनि उद्योग व्यवसाय सरह मान्यता दिन सरकारलाई दवाव दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि होटल व्यवसायको प्रवद्र्धनका लागि बनेका नीतिहरुलाई कार्यान्वयनमा ल्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । होटल एशोसिएशन अफ नेपालले सरकारले कोभिडका कारण धराशायी बन्न गएको होटल व्यवसायलाई अघि बढाउनका लागि आवश्यक आर्थिक राहत उपलब्ध गराउन नसकेको गुनासो गर्दै आएको छ ।








