काठमाडौं २ पुस ।
निर्वाचन आयोगले लुम्बिनी प्रदेश प्रमुखलाई प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ । शनिवार निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई निर्वाचनको अन्तिम परिणाम प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन बुझाएपछि निर्वाचन आयुक्त भण्डारीले लुम्बिनी प्रदेशमा २२ वटा राजनीतिक दलहरुको धरौटी जफत भएको बताउनु भयो । उहाँले पहिला भन्दा यस पटकको निर्वाचन धेरै परिस्कृत भएको छ । उहाँले निर्वाचन सुसम्पन्न गर्नका लागि आयोगलाई सबै क्षेत्रबाट महत्वपूर्ण सहयोग भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सम्पूर्ण विवरणसहितको नामावली आएको भए प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयलाई सहज हुने बताउनु भयो । उहाँले संवैधानिक प्रक्रिया भित्र नै रहेर प्रदेशले आगामी कार्यक्रमहरु अघि बढाउने बताउनु भयो । उहाँले यो निर्वाचन विगतका निर्वाचन भन्दा धेरै फरक र धेरै राम्रो भएको बताउनु भयो ।
गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम आज (शनिवार) एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने
तयारीको लागि अब बाटो खुलेको छ ।








