काठमाडौं २१ मंसिर ।
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग ऐक्यवद्धता जनाएको छ । मंगलवार समितिले सुकुम्वासीको नाममा भइरहेको राजनीतिको अन्त्य गरी
सुकुम्वासीको नाममा भइरहेको दादागिरीको अन्त्य हुनुपर्ने बताएको हो । समितिले सुकुम्वासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ । काठमाडौं महानगरसँग ऐक्यवद्धता जाहेर गरेपछि मंगलवार महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै समितिले सही सुकुम्वासी पहिचान हुन नसक्दा उपत्यकाको नदी किनार लथालिङ्ग भएको बताएको छ । प्रदर्शनपछि बोल्दै आन्दोलित
महेशलाल बज्राचार्यले सुकुम्वासीको नाममा भइरहेको दादागिरी अन्त्य हुनुपर्ने र सुकुम्वासीको तथ्यांक संकलन गरी सही सुकुम्वासीको व्यवस्थापनका साथै भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले सुकुम्वासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा भइरहेका गतिविधिहरुको अन्त्य हुन जरुरी रहेको बताउनु भयो । उहाँले सुकुम्वासीहरुले नगरप्रहरीसमक्ष हिंसात्मक गतिविधि देखाएको भन्दै सरकारलाई सुकुम्वासी
व्यवस्थापन गर्ने चाहना नै नभएको आरोप लगाउनु भयो । उहाँले सुकुम्वासी आयोग, भूमि आयोग लगायतका सम्बन्धित निकायहरुले सुकुम्वासीको समस्या समाधान भएपछि आफ्नो सेवासुविधा नआउने डरले समस्या समाधानमा व्यवधान खडा गरेको बताउनु भयो । त्यस्तै अर्का प्रदर्शनकारी पृथाविन्दु महर्जनले राजनीतिक दलहरुले नै सुकुम्वासीहरुलाई काखी च्यापेको आरोप लगाउनु भयो । उहाँले स्थानीय निकायले सही सुकुम्वासी पत्ता लगाइ उनीहरुको व्यवस्थापन गर्न लाग्दा राजनीतिक दलहरुले हस्तक्षेप गरिरहेको बताउनु भयो । उहाँले सुकुम्वासीको नाममा काठमाडौं उपत्यकाको जमिन हडप्न नपाइने बताउनु भयो । त्यस्तै अर्का प्रदर्शनकारी प्रमोदनाथ श्रेष्ठले सुकुम्वासीको सही व्यवस्थापन हुनुपर्ने तर हुकुम्वासीहरुलाई हटाउन आवश्यक रहेको बताउनु भयो । उहाँले राम्रा कामका लागि उपत्यकाका जनताले सधैँ समर्थन गर्ने भन्दै सरकार र राजनीतिक दलहरुको हस्तक्षेप भइरहे आन्दोलन थप चर्काउने चेतावनी दिनुभयो । प्रदर्शनकारीले उपत्यकाको भूमिलाई सुकुम्वासी भूमि बनाउन पाइँदैन, सुकुम्वासीको नाममा राजनीति गर्न पाइँदैन, सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।







