काठमाडौं २२ कात्तिक ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ को संक्रमण दर बढ्नसक्ने बताउनु भयो । उहाँले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गर्नुभयो । उहाँले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको बताउनु भयो । डा. अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो । उहाँले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताउनु भयो ।
देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उहाँको भनाई छ । तरपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड १९ का संक्रमितहरु रहेको बताउनु भयो ।स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उहाँले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताउनु भयो । उहाँले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताउनु भयो । उहाँले कोभिड १९ बिरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिनुभयो । सर्वसाधारणहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्कगरी कोभिड १९ बिरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रह गर्नुभयो ।








