काठमाडौं १५ कात्तिक ।
नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आईतवार पार्टीको केन्द्रिय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । उहाँले निर्वाचनपछि काँग्रेस पहिलो पार्टी बन्ने र गठबन्धन भित्रका अन्य दलहरुसँग मिलेर सरकार बनाउने बताउनु भयो । उहाँले गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीको घोषणापत्र र काँग्रेसको घोषणापत्रमा नीतिगत रुपमा धेरै फरक नपर्ने भन्दै सरकार बनाउन सजिलो हुने पनि उल्लेख गर्नुभयो । सहमहामन्त्री परियारले निर्वाचन पछि बन्ने सरकारले पार्टीको संकल्पपत्र कार्यान्वयन गर्ने बताउनु भयो । सहमहामन्त्री परियारले भ्रष्टाचार आरोपित नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी नभएको बताउनु भयो ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नेपाली काँग्रेसका नेताहरुलाई प्रतिशोध साँध्न भ्रष्टाचारको मुद्दा अगाडी बढाएको उहाँले उल्लेख गर्नुभयो । गच्छदारलाई मुद्दा चलाउने निर्णय प्रतिशोधपूर्ण निर्णय भएको पार्टीको ठहर रहेको उहाँले स्पष्ट पार्नुभयो । अहिले आरोपमात्रै लागेका कारण भोलि गच्छदार निर्दोष सावित हुनसक्ने पनि उहाँले जिकिर गर्नुभयो ।उहाँले सञ्चारकर्मीहरुको जिज्ञासको जवाफ दिँदै गठबन्धनका कारण आफ्नो पार्टीका दलित समुदायका नेताहरुले टिकट नपाएको बताउनु भयो । दलित नेताहरुको नाम सिफारिस भएको ठाउँमा गठबन्धनका अन्य दललाई छोड्नुपरेको उहाँले बताउनु भयो । उहाँले दलित समुदायको भएकै कारण पार्टीले टिकटबाट वञ्चित नगरेको स्पष्ट पार्नुभयो ।








