काठमाडौं ,१४, वैशाख।
सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ ।३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँग तालमेल नगर्ने र गरेको भए अबिलम्ब खारेज गर्ने सहमति पनि भएको छ ।शीर्ष नेताहरुले सिट बाँडफाँटमा सहमति हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडामा तालमेलका लागि बुधबार नै पहल गर्न स्थानीय तहका संयन्त्रलाई निर्देशन दिएका छन् ।








