पर्सा  । — वीरगन्जस्थित होटल सिटी इनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न होटल व्यवसायी अमिता श्रेष्ठले ६ महिनाअघि वीरगन्जस्थित एक वाणिज्य बैंकमा १५ लाख रुपैयाँ ऋण पाउन निवेदन दिएकी थिइन् ।

बैंकले ६ महिना लगाएर सबै प्रक्रिया पूरा गर्‍यो तर अन्त्यमा ऋण दिन मिल्दैन भनी जवाफ दियो । कोरोनाको महामारीपछि उत्साहका साथ होटल व्यवसायमा प्रवेश गर्न चाहेकी अमिताको उत्साह त्यसपछि सेलायो ।सरकारले महिलाका लागि घोषणा गरेको बिनाधितो ५ प्रतिशत ब्याजमा ऋण पाइने आशामा म धेरै पटक बैंक धाए, बैंकले आवश्यक सबै छानबिन र प्रक्रिया पनि पूरा गर्‍यो,’ उनले भनिन्, ‘तर अन्त्यमा ऋण दिन मिल्दैन भनी जवाफ दिएपछि निराश र हतोत्साही भए, महिलाका लागि सरकारले ल्याएको योजनाबाट हामी जस्ता महिला व्यवसायीनै वञ्चित भए कसले पाउने त यो ऋणको सुविधा ?’ वीरगन्जस्थित परिधि डिस्ट्रिब्युटर्सकी सञ्चालिका निशा श्रेष्ठको पनि यस्तै अनुभव छ । उनले पनि व्यवसाय विस्तारका लागि १५ लाख रुपैयाँ ऋणका लागि वीरगन्जकै एक बैंकमा सबै प्रक्रिया पूरा गरेकी थिइन् । बैंकले अन्तमा ऋण दिन नमिल्ने जवाफ दियो । ‘बैंकले मागेका कागजात बुझाएर प्रक्रियाहरू पूरा भइसकेको थियो,’ उनले भनिन्, ‘तर के कसो कागजात र प्रक्रिया नपुगी मैले ऋण पाइन, त्यसको स्पष्ट जवाफ बैंकबाट पाएको छैन ।’

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त पछिल्लो समय यो समस्या चुलिँदै गएको बताउँछन् । ‘सरकारले घोषणा गरेका सहुलियत ऋणको सुविधा यहाँका वाणिज्य बैंकहरूले विभिन्न बहानामा दिन अनाकानी गर्छन्,’ उनले भने, ‘सरकारले ऋण घोषणा गर्ने तर सरकारको ऋण नीतिलाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले आवश्यक अनुगमन र उचित निर्देशन दिन नसक्दा हामीलाई व्यापार व्यवसाय गर्न गाह्रो भएको छ ।’

उनले कोरोनाले थलिएको होटल, पर्यटन तथा अन्य क्षेत्रलाई राहत दिलाउन सरकारले घोषणा गरेका ५ प्रतिशत सहुलियत ब्याजको ऋण पनि केही बैंकिङ पहुँच पुगेका व्यावसायिक घरानाहरूले मात्र उपयोग गर्न पाएको आरोप लगाए । ‘बैंकिङ पहुँचभन्दा बाहिर रहेका वास्तविक व्यवसायीहरूले यस्तो सेवा लिन खोज्दा पहिले बैंकहरूले सिधै नकार्ने र ग्राहकले अरू बढी सोधखोज गर्न लागे अनेक कागजात खोजेर निरुत्साहित गर्ने गर्छन् । अन्तमा केही न केही बहाना बनाएर ऋण नदिने नै रणनीति बनाएका छन्,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here