श्रावण २२, २०७९ । बर्दिया — बर्दियामा लागूऔषधको खरिदबिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले सक्रियता बढाएपछि केही दिनयता यहाँ ७ जना कारोबारी पक्राउ परेका छन् । पछिल्लो पटक सदरमुकाम गुलरिया–१२ स्थित मनैया सामुदायिक वनमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले ४ सय ९० मिलिग्राम ब्राउन सुगरसहित मंगलबार मनैयाका राकेश श्रीवास्तव र नुरुदिन गद्दीलाई पक्राउ गरेको छ । खानतलासी गर्दा उनीहरूबाट उक्त परिमाणको लागू औषध फेला परेको हो ।

प्रहरीले साउन १४ मा मधुवन–८ कुसुम्बाघाट जंगलमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खोजतलास गर्दा ६ वटा पोकामा ६ सय ४० ग्राम ब्राउन सुगर फेला पारेको थियो । ब्राउन सुगरसहित कुसुम्बाघाटबाट मधुवन–८ का द्रोण गुरुङ र वेदप्रसाद जैसीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता सूर्य सुवेदीले बताए । अनुसन्धानका सिलसिलामा गुरुङको घरको भित्तामा लुकाइछिपाई राखेको थप ४ सय २० ग्रामबराबरको २५ पुरिया ब्राउन सुगर फेला पारेको उनले बताए । बुधबार मात्रै बढैयाताल–८ स्थित दशगजाबाट शंकास्पद ढंगले ओहोरदोहोर गरिरहेको अवस्थामा प्रहरीले खानतलासी गर्दा ५ सय ५० मिलीग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्याउने क्रममा लागू औषध फेला पारेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । प्रहरी प्रवक्ता एवं जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवेदीले पक्राउ पर्नेमा मधुवन–५ का ललितबहादुर गुरुङ र समिर कार्की एवं मधुवन–६ का किरणवंशी मगर रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here