काठमाडौं,३,असार ।
नेकपा एमालेका नेता भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन सुझाव दिएका छन् ।अमेरिकाले एसपीपी नेपालले नलिन पनि सक्छ भनिसकेको भन्दै रावलले परराष्ट्र मन्त्रीले पत्र पठाएर नलिने भन्नु पर्ने बताए ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी आईपीएसकै अंक भएको भन्दै त्यसमा सहभागी हुन नहुने बताए । ‘एसपीपी आईपीएसको अंग भएको अमेरिकन वेबसाइटमा छ । तर परराष्ट्र मन्त्री (डा.नारायण खड्का)ले होइन भन्नुभयो,’ रावलले भने ।बैठकमा नै रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफूले त्यस्तो नभनेको भन्दै रावललाई रोक्न खोजे ।त्यसपछि रावलले भने, ‘तथ्य आउँदा मान्छे डराउँछ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन समिति गठन गरौं ।’







