काठमाडौं, जेठ २० गते । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले महिनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको दाबी गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभामा प्रश्तुत जरुरी सार्वजनिक महत्वको प्रश्तावमा उठेका विषयहरुको जवाफ दिँदै मन्त्री बडूले प्रश्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुनेगरि २ पटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको हो । उहाँले २०७८ चैत्र महिनामा २ गते र २२ गते गरी मूल्य समायोजन भएको र २०७९ वैशाखमा ३१ गते र जेठ महिनामा ८ गते एकपटक मात्र मूल्य समायोजन गरिएको बताउनु भयो । मन्त्री बडूले पेट्रोलमा अहिले पनि ३१ रुपैयाँ ४१ पैसा प्रतिलिटर घाटा रही मासिक १ अर्ब ८३ करोड घाटा, डिजेलमा २८ रुपैयाँ ३३ पैसा प्रतिलिटर घाटा रही मासिक ३ अर्ब ७३ करोड घाटा, एलपी ग्यासमा ७५१ रुपैयाँ १४ पैसा प्रतिसिलिण्डर घाटा रही मासिक २ अर्ब ८६ करोड घाटा तथा मट्टितेल र हवाई इन्धनमा मासिक ६५ करोड नाफा रहेको बताउनु भयो । उहाँले नाफा र घाटा मिलाउँदा हाल मासिकरुपमा निगम ७ अर्ब ७७ करोड घाटामा रहेको उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई करिव ४७ अर्ब घाटा भइसकेको पनि बताउनु भयो ।

मन्त्री बडूले भन्नुभयो, ‘नेपाल आयल निगमलाई १ जुन, २०२२ मा प्राप्त नयाँ खरिदमूल्य र निगमको मिति २०७९ जेठ महिना १९ गते बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको बिक्री मूल्यमा १० रुपैयाँ समायोजन गर्ने निर्णयपश्चात् पेट्रोलमा अहिले पनि ३१ रुपैयाँ ४१ पैसा प्रतिलिटर घाटा रही मासिक १ अर्ब ८३ करोड घाटा, डिजेलमा २८ रुपैयाँ ३३ पैसा प्रतिलिटर घाटा रही मासिक ३ अर्ब ७३ करोड घाटा, एलपी ग्यासमा ७५१ रुपैयाँ १४ पैसा प्रतिसिलिण्डर घाटा रही मासिक २ अर्ब ८६ करोड घाटा तथा मट्टितेल र हवाई इन्धनमा मासिक ६५ करोड नाफा रही सबै नाफा र घाटा मिलाउँदा हाल मासिक रुपमा निगम ७ अर्ब ७७ करोड घाटामा सञ्चालनमा छ । चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई करिव ४७ अर्ब घाटा भइसकेको अवस्था छ । नेपाल आयल निगमले इण्डियन आयल निगम कर्पोरेशनलाई सन् २०२२ जुन महिनाको लागि पहिलो किस्तावापत १६ अर्ब र बाँकी बक्यौतावापत् अर्को १६ अर्ब गरी जम्मा ३२ अर्ब आगामी सन् २०२२ को जुन ८ तारिखमा भुक्तानि गर्नुपर्ने अवस्था छ । इण्डियन आयल कर्पोरेशनबाट हरेक अंग्रेजी महिनाको १ तारिख र १६ तारिखमा मूल्य समायोजन भएर आउने गरेको छ । सोही अनुरुप नेपालमा पनि महिनाको २ पटकमात्र मूल्य समायोजन हुने गरेको छ । प्रश्तुत सार्वजनिक महत्वको प्रश्तावमा उल्लेखित प्रावधान विपरित् २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुनेगरि २ पटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता नभएको स्पष्ट गर्न चाहन्छु । २०७८ चैत्र महिनामा २ गते र २२ गते गरी मूल्य समायोजन भएको छ । त्यस्तै २०७९ वैशाखमा ३१ गते र जेठ महिनामा ८ गते एकपटक मात्र मूल्य समायोजन गरिएको छ । स्वीकृत कार्यविधि र प्रावधान बिरुद्ध गइ महिनामा दुईपटक भन्दा बढी मूल्यवृद्धि भएको छैन ।’मन्त्री बडूले नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि दाबी गर्नुभयो । राष्ट्रिय सभाको आजको बैठकमा खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता भइ सदनमा पेस भएको थियो । देवेन्द्र दाहाल प्रश्तावक र भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here